गैँडाकोट ५ मा बालबालिकाको लागि आधारभूत फुटबल प्रशिक्षण सुरु 

२०८१ बैशाख २२ शनिबार १७:३३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा बालबालिकाको लागि आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । करिब डेढ महिनासम्म चल्ने तालिमको शनिबारबाट सुरुवात भएको हो । 


जनक नमुना माविको पुरानो र नयाँ ब्लक गरी दुईवटा खेल मैदानमा सञ्चालन हुने तालिममा वडा भित्र रहेका १९ वटा बाल क्लबका बालबालिकाको सहभागिता रहेको गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

वडाले बालबालिकालाई खेल सामग्री वितरण मात्र नभई खेल सीपको विकासमा पनि सहयोग पु¥याउने उद्देश्यले आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ । आगामी दिनमा खेल मैदानको व्यवस्थापनामा पनि काम गर्ने अध्यक्ष सापकोटाले बताउनुभयो । 


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खेलले स्वास्थ्यमा सुधार, खेलाडी र राष्ट्रको पहिचान बढाउने साथै अनुशासन पनि सिकाउने भएका कारण यो जरुरी रहेको बताउनुभयो । आगामी दिनमा अन्य वडाले पनि यसलाई अनुसरण गर्नुपर्ने उहाँको भनाई छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा, नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, भवानी टोल विकास संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे लगायतले बालबालिकाको चौतर्फी विकासमा वडाले गरेको काम प्रशंसायोग्य रहेको बताउँदै यसलाई अझै व्यस्थित बनाउदै लैजान सुझाव दिनुभएको छ । 

कार्यक्रमको सहजीकरण नगर कार्यपालिका सदस्य एवं गैँडाकोट ५ का वडा सदस्य शान्ति न्यौपानेले गर्नुभएको थियो ।

अबको डेढ महिना बालबालिका हरेक दिन बिहान ६ बजेबाट ८ बजेसम्म फुलबल खेल्न सिक्ने छन् । उनीहरुलाई एन्फाका कोच द्वय सिर्जना रेग्मी र प्रशान्त रेग्मीले प्रशिक्षण दिनुहुने छ ।