गैँडाकोटका केशवप्रसाद सापकोटाको आत्मकथा कृति ‘अन्त्यहीन यात्रा’ लोकापर्ण 

२०८१ बैशाख १२ बुधबार १६:४६:०० मा प्रकाशित

गैँडाकोट । अविश्रान्त समाजसेवी गैँडाकोट निवासी केशवप्रसाद सापकोटाको आत्मकथा कृति ‘अन्त्यहीन यात्रा’ लोकापर्ण गरिएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति एवं गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, स्वामी जगन्नाथ आचार्य लगायतले सापकोटाको आत्मकथा कृति ‘अन्त्यहीन यात्रा’ लोकापर्ण गर्नुभएको हो । 

बुधबार सापकोटाको जन्मदिनको अवसर पारेर ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा नारायणी रिसोर्टमा कृति लोकापर्ण कार्यक्रम गरिएको हो । सिमल बुक पब्लिकेशन काठमाडौँले २५६ पृष्ठ रहेको यस कृति प्रकाशनमा ल्याएको हो । २००४ सालमा बाग्लुङ दमेकमा जन्मनुभएका सापकोटाको सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको छ ।

 

कृतिकार केशवप्रसाद सापकोटाले यथार्थ आफ्नो व्यक्तिगत भोगाइ र विभिन्न क्षेत्रमा संलग्न रहँदाका अनुभवहरु सँगालेर छोटो समयमा यो पुस्तका प्रकाशनमा ल्याएको बताउनुभयो । ७७ वर्षको उमेरमा पनि साथीहरुले भनेजस्तै इन्धन आफैभित्र रहेको र त्यो इन्धनको स्रोत भनेको आत्मबल, सकारात्मक सोच र सेवाप्रतिको समर्पण भाव नै रहेको उल्लेख गर्नुभयो ।

दुई दर्जन बढी संघ संस्थामा आवद्ध सापकोटाले त्यो दिनदेखी यो दिनसम्म भन्दै जन्मदेखी हालसम्मको यात्रालाई पुस्तकमा समावेश गर्नुभएको छ । स्कुलबाट चुनावी प्रचार, दमेकदेखी चितवनको लङ्कुसम्म, २० वर्षको उमेरमा नै २०२३ सालमा नारायणगढको कान्छो वडाअध्यक्ष, गैँडाकोट बसाइँ, मौलाकालिका मन्दिरदेखी स्कूल जोगाउने जोश, भरतपुर गोलिकाण्ड, २०३६ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रहसम्म सुखदुःखका भोगाइ पुस्तकमा उल्लेख गरिएका छन् । उहाँबारे जानकार समाजका प्रभुत्व १३ जनाले उहाँको योगदान र अदम्य साहसको पुस्तकमा खुलेर प्रशंसा गरेका छन् ।  

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति एवं गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, विरेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक एवं पुस्तक समिक्षक दामोदर रिजाल, कान्छो छोरा ब्रह्मानन्द सापकोटा, शुभेच्छुकहरु अमृत भट्टचन लगायतले यस्ता अनुकरणीय व्यक्तिहरुका जीवनानुभूत सत्यहरुलाई समाजले अर्ति शिक्षा वा सन्देशका रुपमा आत्मसाथ गर्दा सबैको हितकारक नै हुने बताउनुभयो ।  

प्रकाशकका तर्फबाट लेखन कुञ्जका अध्यक्ष कमल ढकालले केशव सापकोटा नामजस्तै भगवानरुपी कहिल्यै अन्त्य नहुने पात्र रहेको बताउँदै उहाँको यात्रा भोगाई यस कृति अमर रहने बताउनुभयो ।  

ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिवारीले कृति लोकार्पण गर्न पाउनु प्रतिष्ठानका लागि अहोभाग्य रहेको उल्लेख गर्नुभयो ।