नारायणी नदीलाई कुरुप बन्न नदिन बेलैमा सोच्ने की !
धार्मिक, साँस्कृतिक, सामाजिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको नारायणी नदी चितवन, पूर्वी नवलपरासी तथा तनहुँको सिमानामा पर्ने प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा साना ठुला नदीहरु मिली बनेको एक नदी हो, नारायणी नदी । देवघाटधामदेखि पश्चिम नवलपरासीको त्रिवेणीसम्मको भागलाई मुख्यतया नारायणी नदी भन्ने गरिएको छ ।
धार्मिक तथा साँस्कृतिक तवरले नदीलाई निकै महत्त्वपूर्ण रुपमा लिने गरिएको छ । हाम्रा पुर्खाहरुको पालादेखि नै साँस्कृतिक रुपमा नदी, ताल, तलैयाहरुमा स्नान गर्ने परम्परा रही आएको छ । विभिन्न धर्मसँग सम्बन्ध रहेर विभिन्न चाडपर्वहरुको अवसर पारेर नदीमा स्नान गर्ने गरिन्छ, हिन्दु धर्मावलम्बीहरुले अझै महत्त्वका साथ नदीहरुलाई लिने गर्दछन् । मानिस जन्मेपछी मृत्युपश्चात् पनि मानिसहरुको निकै सुमधुर सम्बन्ध रहेको छ । हिन्दु धर्म भित्रका प्रायः जसो चाडपर्वहरुमा नदीमा स्नान गर्ने परम्परा रही आएको छ । यस्ता परम्पराहरुमा नदीहरुमा लाग्ने भिडले गर्दा नजानिदो रुपमा नदी प्रदुषित भई राखेको छ, नदी स्नान होस् या यस क्षेत्रमा लाग्ने मेलाहरुमा आउने हरेक मानिसहरुको क्रियाकलाप र उसले प्रयोग गर्ने विभिन्न खालका प्लास्टिक जन्य तथा अन्य खालका बस्तुहरु ल्याउने र उक्त बस्तु त्यही नदी किनारमा असभ्य बनी फ्याँक्दा त्यसबाट हुने गरेको प्रदुषणबाट नदी कुरुप हुँदै आएको छ । अझै यसै नारायणी नदीसँग जोडिएका संगम स्थल तथा घाटहरुमा विभिन्न दिनहरुको अवसर पारेर मेला लाग्ने तथा त्यस्ता मेलाहरुमा मानिस अनि तिर्थालुहरुको अत्यन्तै भिड लाग्ने गरेको पाईन्छ । नारायणी नदी आसपासका दर्जन भन्दा बढी तटीय क्षेत्रहरुमा यस्ता मेला लाग्ने गर्दछन् । यस्ता मेलाहरुले पनि नारायणी नदी दुषित बन्दै गईरहेको छ । आगामी दिनमा यस नदीसँग जोडीएर हुने गरेका हरेक कार्यहरु प्लाष्टिक मुक्त तथा प्रदुषणरहित वातावरण मैत्री बनाउदै लैजानु पर्ने आवश्यकता देखीएको छ । त्यसका लागि यससँग सम्बन्धित सरोकारवालाहरुले अलि बढी चासो दिनु पर्ने र स्थानीय तहहरुले नेतृत्वदायी भूमिका निर्माण गर्नुपर्ने हुन्छ । प्राकृतिक दृष्टिकोणले पनि नारायणी नदी उत्तिकै महत्त्वपूर्ण रहेको छ । यसै नारायणी नदीसँगै अन्तर्राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । यस चितवन राष्ट्रिय निकुञ्ज जैबिक बिबिधताले निकै महत्त्वपूर्ण मानिने गरिन्छ, यस निकुञ्जमा विश्वमै दुर्लभ मानिने जनवारहरुको मुख्य बासस्थानको रुपमा रही आएको छ, यहाँ विश्वमै दुर्लभ पाटे बाघ, एक सिंगे गैँडा, चितुवा, घोरल, हात्ती, जरायो, मृग, भालु, रतुवा आदि पाईन्छ । यस चितवन राष्ट्रिय निकुञ्ज भित्र बसोबास गर्ने सम्पूर्ण जनावरहरुको लागि नारायणी नदीको पानी महत्त्वपूर्ण रहेको छ । उनिहरुले पिउने, नुहाउने लगायतका कार्यहरु समेत यहाँ गर्ने गर्दछन् । यसै नारायणी नदीमा विश्वमै दुर्लभ मानिएको घडीयाल गोही, मगर गोही लगायत नदीमा आस्रित थुप्रै जलचर जनावर हरुको बासस्थान रहेको छ भने विभिन्न जल आस्रित चरा हरुको मुख्य बासस्थान समेत रही आएको र यसै नदीमा हिउँदमा साईबेरीया, युरोप, हिमाल लगायतका विभिन्न ठाउँहरुबाट समेत बसाइँसराइ गरी विभिन्न जातका चराहरु आउने गर्दछन् यस नदी वरपर पाईने सम्पूर्ण वन्यजन्तुको लागि यस नदीको पानी आफ्नो जीवन जिउने प्रमुख स्रोतको रुपमा रहने गरेको छ ।
हरेक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिदै आएको नारायणी नदी आजभोलि हरेक दिन कुरुप बन्दै गईरहेको छ । यस नदीसँग जोडिएर हुने गरेका हरेक कार्यहरुले प्रत्यक्ष रुपमा नारायणी नदीको प्राकृतिक आलङ्कारीक शोभालाई असर गरिराखेको छ । विकासका नाममा दिनहुँ हुने गरेका नदी उत्खलन कार्यले यसको भू–स्वरुप नै परिवर्तन हुदै गएको छ । अझै यसको ढुङ्गा, बालुवा, गिट्टीहरुको नजानिदो निकासीले भविष्यमा अर्को समस्या नआउला भन्न सकिन्न । हाम्रा समाजको सामाजिक विकासले भविष्यमा वातावरण बिनासतर्फ उन्मुख हँुदै छ । नारायणी नदी आसपासका बस्तीहरुमा विकासको लहर चलिरहदाँ ती बस्ती तथा बजारहरुको फोहर फाल्ने ल्यान्डफिड साईड तथा डम्पिङ्ग साईडको रुपमा नारायणी नदी बनाईदैछ । हरेक किसिमका फोहरहरु प्लास्टिक जन्य, कागज जन्य, शिसा, धातु, फलाम जन्य फोहरहरुले यस नदी दिन प्रति दिन दुषित बन्दै गईरहेको छ । यस नदीका किनारहरुमा तथा पानीको तल्लो सतहहरुमा समेत जताततै प्रशस्तै फोहरका थुप्राहरु समेत रहेका छन् । मरेका पशु पन्छीहरुको सिनो समेत नदीमा फाल्ने गरेको पाईन्छ ।
नदीको माथिल्लो तटीय क्षेत्रहरु ः हिमाली जिल्लाहरु मनाङ, मुस्ताङदेखि लमजुङ, गोरखा, कास्की, तनहुँ, धादिङ, नुवाकोट, चितवन लगायतका जिल्लाका विभिन्न क्षेत्रहरुबाट वर्षायाममा तथा अन्य समयमा समेत अत्याधिक फोहरहरु बगाएर ल्याउदा यस नदी थप कुरुप बन्दै गएको छ । केही वर्ष अघिसम्म निर्मल, कञ्चन निलो पानी बहने नदी हाल सँधै धमिलो पानी बगेको र त्यस पानीमा सँधै जसो फोहरहरु बग्ने गरेको हामी प्रस्टै देख्न सक्छौ भने यसै नदीका माथिल्लो तथा तल्लो तटीय क्षेत्रहरुमा वातावरणीय सन्तुलन खलबलाउने तवरले खोलिएका उद्योग धन्दा, कलकारखाना तथा ईट्टा भट्टीहरु र तिनीबाट निस्कने विभिन्न खालका दुषित धँुवा, रसायनिक तरल पदार्थहरु, ढलहरु सिधा नदीमा फ्याकिएको छ । ती दुषित पदार्थहरुको कारण नारायणी नदीको पानीको गुणस्तर बिग्रेको छ । जसका कारण नदी आस्रित जनावरहरुमा प्रत्यक्ष यसको असर परेको छ । दुर्लभ वन्यजन्तुले यस नदीको पानी प्रयोग गर्ने हँुदा यस दुषित पानीका कारण वन्यजन्तुहरुमा रोग नलाग्ला भनेर भन्न सकिदैन चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो वन्यजन्तु गणनाबाट पनि यहाँ पाईने हरेक खालका जनावरहरुको संख्यामा कमी आएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ती वन्यजन्तुहरुको संख्यामा कमि आउनाको कारण नारायणी नदी प्रदुषित हुनु र त्यस प्रदुषित पानीको वन्यजन्तुहरुले प्रयोगसँगै निम्तिने विभिन्न खालका रोगहरु पनि एक हुने अध्ययनले देखाउने गरेको छ । विश्वमै दुर्लभ घडीयाल गोहीको मुख्य बासस्थानको रुपमा रहेको यस नदी खस्कदो पानीको गुणस्तरसँगै गोहीको संख्यामा पनि कमी आईरहेको छ । यस दुर्लभ गोहीको बच्चा उत्पादन प्रजनन प्रकृया, बासस्थान, हुर्कन बढ्नका लागी पूर्णरुपमा पानी स्वच्छ हुन जरुरी रहेको कुरा यससँग सम्बन्धित बिज्ञहरु बताउँछन् । ष्रदुषित नदीसँगै यससँग सम्बन्धित जनावरहरुले फोहर खाने गर्दछन् । विभिन्न तथ्याङ्कहरुले पनि मृत्यु भएका जनावरहरुको पोष्टमार्टम गर्दा पेट भित्र प्लास्टिकहरु भेटीने गरेको पाईन्छ । पानीमा बस्ने जनावरहरुले पनि प्लाष्टिक जन्य पदार्थ खाएको तथा उनीहरुको मुखमा, शरीरमा प्लास्टिक बेरीने तथा बेरीएको प्लाष्टिक निस्कन गाह्रो परी अन्ततः यसबाट वन्यजन्तुलाई शारीरिक असर परी मृत्यु हुने सम्मका घटनाहरु घटी राखेका छन् । यस्ता दुर्लभ वन्यजन्तुहरुलाई बचाई राख्ने र भावि पुस्ताहरुलाई पनि देखाउने हो भने नदीको सही गुणस्तर हुन जरुरी हुन्छ ।
नारायणी नदी आसपासमा धेरै मध्यवर्ती सामुदायिक वनहरु पर्दछ । यी मध्यवर्ती वनहरु पनि चितवन राष्ट्रिय निकुञ्जको एक अंश हो । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी तथा मध्यवर्ती सामुदायिक वनहरुमा भएका जैबिक बिबिधताहरुलाई आधार मानेर आन्तरिक तथा बाह्य प्रशस्त पर्यटकहरु अवलोकनका लागि आउने गर्दछन् । वन, जंगलसँग सम्बन्धित अध्ययन अनुसन्धानदेखि यहाँ पाईने चरादेखि दुर्लभ जनावरहरुको अवलोकनका लागि विभिन्न खालका पर्यटकहरुको लागि यस क्षेत्र पहिलो रोजाईमा पर्दै आईरहेको छ । नारायणी नदी र यस आसपासका अनेकौं अलौकिक मनोरम दृष्यले धरैलाई आकर्षित गरिराखेको हुन्छ । त्यसै कारणले आजकल यस क्षेत्रमा पर्या–पर्यटन, दिगो जीविकोपार्जनलाई आधार मानेर प्रशस्तै होटल, रेष्टुरेन्ट तथा होमस्टे सञ्चालनमा आएका छन् भने कति सञ्चालनामा आउने तयारीमा रहेका छन् । पर्यटकहरुको यस क्षेत्रमा आगमनसँगै यस क्षेत्रका समुदायहरुको आय आर्जनमा वृद्धि भई जीवनस्तरमा परिवर्तन आउन थालेको छ भने पर्यटकहरुको आगमनका कारण यहाँका विभिन्न जात जातिहरुको साँस्कृतिक मौलिक पहिचानको समेत जगेर्ना तथा संरक्षणमा टेवा पुग्न सक्छ । यिनै साँस्कृतिक पहिचानलाई अवलोकन तथा अध्ययनका लागि समेत पर्यटकको आगमन बढ्न सक्छ ।
नारायणी नदीलाई संरक्षण तथा आधार मानेर यस क्षेत्रको पर्यावरणीय विकासिए सम्भावना प्रशस्त रहेको छ तर अनेकौं बहानामा नदी माथि हुने गरेको प्रहारले यस नदी छिट्टै नै संकटमा पुग्ने अवस्थामा पुग्दै छ । बढ्दो पृथ्वीको तापक्रमसँगै हिम श्रृंखलाहरुमा हिउँ पग्लेर हिउँ घट्दा तथा पानीका स्रोतहरु सुक्दै जानुले यस नदीको पानीको सतह पनि घट्दै गईराखेको छ । पहिलेको तुलनामा धेरै नै पानीको सतह घटेको प्रष्ट देख्न सकिन्छ । नदीका थुप्रै किनारमा मानिसको मृत्यु पश्चात् हुने गरेका अव्यवस्थित दाहसंस्कारका कार्य र यत्र–तत्र जथाभावी मृत्यु भएका मानिसले प्रयोग गरेका सामाग्रीहरु फ्याक्ने कार्यले समेत नदी प्रदुषण बढ्दो छ । यस्ता कार्यहरुबाट हुने प्रदुषणलाई बुझी व्यवस्थित गर्नुपर्ने जरुरी देखीन्छ । अन्यथा यस नदी थप संकटमा पर्ने सम्भावना बढ्दो छ ।
हामीसँग जे जस्तो स्रोत र साधनहरु छन् तिनको भरपुर प्रयोग गरेर विकास गर्न सक्दा त्यो बुद्धीमत्ता विकास हुन्छ तसर्थ नारायणी नदी लाई केन्द्रमा राखेर यसलाई अझ सुन्दर सफा र स्वच्छ बनाउदै लैजान सकियो भने र यसको महत्त्वलाई व्यापकता, सर्वपक्षीय बनाउँदै आम मानिसहरुलाई जाग्रीत पार्दै कुरुप बन्दै गएको नारायणी नदीलाई तत्काल जोगाउँदै बचाउँदै लैजानुपर्ने आवश्यकता देखीन्छ यसका लागी यससँग जोडीएका सम्पूर्ण सरोकारवालाहरु बेलैमा सचेत र एकतावद्ध भई यसको संरक्षणमा अघि बढ्नुपर्ने आवश्यक देखिन्छ ।
(लेखक संरक्षणकर्मी हुन् ।)