क्षयरोगमुक्त नगरपालिका घोषणाका लागि गैँडाकोटमा वडा स्तरीय सुक्ष्म योजना 

२०८० चैत २१ बुधबार १५:४३:०० मा प्रकाशित

गैँडाकोट । क्षयरोगमुक्त नगरपालिका घोषणाका लागि गैँडाकोटमा वडा स्तरीय सुक्ष्म योजना बनाउने कार्य अघि बढेको छ । सोही अनुरुप गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । 

“हो ! हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने अभिप्रायका साथ प्रतिवद्धता पत्रमा हस्तारक्षर अभियान पनि सँगै अघि बढेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । 

वडा स्तरमा सुक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त बनाई राष्ट्रिय अभियानलाई सफल बनाइने क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले जानकारी दिनुभयो । 

कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारीले यस अभियानलाई सार्थक तुल्याउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।  

कार्यक्रममा गैँडाकोट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाअध्यक्ष रत्नप्रसाद सापकोटा, कार्यपालिका सदस्य शन्ति न्यौपाने, वडा सदस्यहरु एवं टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो । 

यसअघि गैँडाकोट स्वास्थ्य शाखाले समुदायमा सचेतना कार्यक्रम, अभिमुखिकरण लगायतका कार्यक्रम गरिसकेको छ । 

गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षमा ६२ जनामा पुष्टि भइसकेको पाइएको र अन्यको खोज पड्ताल जारी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।