क्यान्सरको पहिचान गर्न गैँडाकोट ४ मा वडामा नै ‘स्क्रिनिङ’ शिविर

२०८० चैत १९ सोमबार १७:४८:०० मा प्रकाशित

गैँडाकोट । क्यान्सरको पहिचान गर्न गैँडाकोटमा वडामा नै ‘स्क्रिनिङ’ शिविरको आयोजना गरिएको छ । सोमबार गैँडाकोट ४ मा भएको महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच, स्तन परीक्षण तथा आँङ खस्ने समस्याको स्क्रिनिङ कार्यक्रममा ८ जनामा स्तन सम्बन्धी र ६ जनामा पाठेघर सम्बन्धी समस्या देखिएको थियो । 

शिविरमा ११० जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच, स्तन परीक्षण तथा आँङ खस्ने समस्याको स्क्रिनिङ गरिएको थियो । स्क्रिनिङ गर्दा ८ जनामा स्तन सम्बन्धि र ६ जनामा पाठेघर सम्बन्धि समस्या देखिएकोले उनीहरुलाई थप परीक्षण र उपचारका लागि भरतपुर अस्पाल रिफर गरिएको आधारभूत स्वास्थ्य केन्द्र गैँडाकोट ४ का प्रमुख टुकराम सुवेदीले जानकारी दिनुभयो । 

गैँडाकोट नगर अस्पतालका सिअनमि तुलसी कँडेल, सिअनमिहरु सीता रिजाल, मायाकुमारी शर्मा, रञ्जना शर्मा लगायतको स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य जाँच गरेको थियो । 
उद्घाटन कार्यक्रममा स्वास्थ्यप्रति सजग रहन आग्रह गर्दै गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिला यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन आग्रह गर्नुभएको थियो । 

गैँडाकोट नगर स्वास्थ्य शाखाका सिअनमि सीतादेवी शर्माले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उहाँले महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरूको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरूको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

गैँडाकोट ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य शान्ता घर्ती, महिला सञ्जाल गैँडाकोट ४ का अध्यक्ष अनिता काफ्ले घिमिरे, कालिका मेडिकल एण्ड टेक्निकल ईन्स्टिच्युटका प्रज्ञा पाण्डेले स्वास्थ्यप्रति सजग रहन आग्रह गर्नुभएको थियो ।