वसन्तपञ्चमी तथा श्रीपञ्चमीको महिमा के छ ?

२०८० फाल्गुण १ मंगलबार १६:०४:०० मा प्रकाशित

वसन्त पञ्चमी, श्रीपञ्चमी (सरस्वती पूजा) पर्व माघ शुक्ल पञ्चमीका दिन पर्छ । वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ । यस दिन सरस्वतीको पूजाका अतिरिक्त  पहिला पहिला आर्थिक कारोबारको दिनका रूपमा लिइने हुनाले यस पर्वलाई श्रीपञ्चमी पनि भनिएको पाइन्छ । सरस्वतीको पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाइन्छ । प्रसादमा विशेष गरी  पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर, फलफूल चढाउने प्रचलन छ । आजभोलि भने विभिन्न मिठाइँका प्रकार र हलुवा समेत चढाइन्छ ।                           

 

रामजी आचार्य

गैँडाकोट- २ नवलपुर

 

सरस्वतीको पूजापाठ अर्थात पूजाअर्चना गर्दा देवीका विभिन्न रुपहरु संझेर मन्त्रोच्चारणसहित स्तुति  गरिन्छ ।

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी ।
       हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।।

प्रथमं भारती नाम द्धितीयं च सरस्वती।
      तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
      सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी  ।।

नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी ।
     एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।
     जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती  ।।

माघ शुक्ल पञ्चमी (वसन्त पञ्चमी) वसन्तोत्सव साथ  मनाउने विधिपूर्वक धुमधामसँग मनाइन्छ । यस दिन काठमाडौंको वसन्तपुर दरबारको हनुमानढोका अगाडिको चोकमा राष्ट्रप्रमुखको उपस्थितिमा वसन्त श्रवण गर्ने  परम्परा रहेको पाइन्छ । त्यसैले पनि परम्परादेखि  यस पञ्चमीको ( वसन्त पञ्चमी)को  विशेष महत्त्व   रहेको बुझ्न सकिन्छ  ।

देवीका विभिन्न स्वरूप मध्ये  सरस्वतीलाई विद्याकी अधिष्ठात्री देवी मानिन्छ।  सरस्वती विद्या, विवेक, बुद्धि र ज्ञानले भरिपूर्ण भएको शक्तिको स्वरूपलाई महासरस्वती मानिन्छ। यिनै विद्या, विवेक, बुद्धि र ज्ञान स्वरूपले युक्त भएकी देवीको पूजालाई नै सरस्वतीपूजा भनिन्छ । सरस्वती पूजाका दिन सरस्वतीका मन्दिरमा गएर पूजापाठ गर्ने, घरमा सरस्वतीको फोटो वा प्रतिमा बनाइ राख्ने, यसै दिन बालबच्चालाई गणेश र सरस्वतीको पूजा गरी अक्षरारम्भ गराउने र सरस्वतीलाई कापी र कलम चढाइयो भने विद्या आउँछ भन्ने मानी सरस्वतीको पूजा गर्दा कापीकलम चढाउने आदि चलन  छ। यस्तै, यस दिन कुनै पनि शुभकार्य गर्दा साइत हेर्ननपर्ने मानिन्छ। विद्यालयमा सबै छात्रछात्रा उपस्थित भएर सरस्वतीको पूजापाठ गरी प्रसाद वितरण गरी मनाउने गरिन्छ । भने तराईमा माटाका विशाल मूर्ति बनाई त्यसमा प्राणप्रतिष्ठा गराई पूजापाठ गर्ने र अर्को दिन शोभायात्रासहित त्यस मूर्तिलाई नदी, खोला वा तलाउमा लगी सेलाउने प्रचलन छ। यसै दिन नाककान छेँड्दा, जग्गा खरिद गर्दा, गृह निर्माण आदि गर्दा साइत हेर्ननपर्ने मानिन्छ।  

वसन्त पञ्चमी पर्व  विभिन्न समूहले  भिन्न  भिन्न तरिकाले मनाएको पाइन्छ । सरस्वतीको मन्दिरमा गएर पूजापाठ गर्ने, नयाँ कार्यको थालनी गर्ने , आफ्नो जातीय मान्यता अनुसार ढोलक, ट्याम्को, दमाहा, हुड्को बजाउँदै निश्चित धुनका माङ्गलिक गीत वसन्त गायन गर्ने प्रचलन पनि रहेको पाइन्छ । यस गीतमा वसन्त ऋतुको गुणगान गरिएको हुन्छ। वसन्त गायन नयाँ वर्ष, वर्षायामको सुरुवात र वसन्त ऋतुको आगमनको सङ्केत भएकाले यस गीतमा नयाँ वर्षमा उत्साह–उमङ्ग छाउने, खेतीपाती सप्रने, सहकालको आविर्भाव हुने र प्राकृतिक सौन्दर्य बढ्ने कुराको वर्णन हुन्छ। त्यसैले यस गीतलाई शुभगायन मानिन्छ। यसका अतिरिक्त यस दिन घरगीत, चैत, चाँचरी आदिको प्रस्तुति पनि हुन्छ। 

सरस्वतीको पूजा विद्या, बुद्धि, विवेक चाहने सबैले  गर्नेभए पनि विशेषतः विद्याध्ययनमा लागेका व्यक्तिले पूजा विशेष रूपले गर्ने गर्छन्। विद्या, विवेक र बुद्धिकी अधिष्ठात्री मानिने भएकाले यिनको स्वरूप सौम्य र शान्त प्रकृतिको छ। यिनको यो स्वरूपलाई सत्वगुणले युक्त मानिन्छ। सरस्वतीलाई सेतो वर्णकी, ब्रह्मविचारकी साररूप भएकी, आदिशक्तिका रूपमा मानिएकी, वाणीस्वरूपले जगद्व्याप्त भएकी, हातमा वीणा र पुस्तक लिएकी, अभय दान दिने क्षमता भएकी, अज्ञानरूपी अन्धकारलाई हटाई ज्ञानरूपी प्रकाश दिने क्षमता भएकी, हातमा स्फटिकको माला पहिरेकी, पद्मासनमा बसेकी र बुद्धिप्रदायिनी भगवती मानिएको छ। 

सरस्वती  राजहाँसको वहानमा सयर गर्नुहुन्छ  त्यसले सत्य र असत्य छुट्याउने कुराको सङ्केत  गर्दछ ।  देवीको  हातमा लिएको पुस्तकले अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूपी प्रकाश छर्ने प्रेरणा प्रदान गर्छ। यस्तै उनको हातमा रहेको वीणाको सङ्गीतले  मन र मस्तिष्कलाई मनोरञ्जन प्रदान गर्छ। सरस्वतीको सेतो पहिरनलाई सत्व गुणको प्रतीक मानिन्छ। यसबाट सरस्वतीको आराधनाबाट सत्वगुणको प्राप्ति हुने मानिन्छ। 

यसरी ठाउँ अनुसार फरक–फरक किसिमले मनाइने वसन्त पञ्चमीमा (श्रीपञ्चमीमा)  वसन्त गायन, वसन्त श्रवण, सरस्वती पूजा, आर्थिक कारोबार  नयाँ कार्यको थालनी गर्दा साइत हेर्न नपर्ने विशेष दिनका रुपमा श्रीपञ्चमी अर्थात वसन्तपञ्चमीलाई  लिएको पाइन्छ  ।