गण्डकी साकोसद्वारा सदस्यहरुलाई संरक्षित पूँजी वितरण

२०८० माघ २९ सोमबार १८:२८:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई गत आर्थिक वर्षको संरक्षित पूँजी वितरण गरेको छ । 

संस्थाले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा विभाजन भएको रकम संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिने सदस्यहरुमध्ये १०८ जनालाई संस्थाको भुक्तानी पूर्जा (चेक) प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुबेदीले जानकारी दिनुभयो । उहाँले सदस्यले अधिकतम ४८ हजार ४८१ रुपैयाँ सम्म प्रोत्साहन रकम प्राप्त गरेको जानकारी दिनुभयो । 

गैँडाकोट २ स्थित मुख्य कार्यालयमा गत आर्थिक वर्षमा सदस्यहरुले बचतमा प्राप्त गरेको ब्याज र ऋणमा भुक्तान गरेको ब्याजको आधारमा नियमित सदस्यहरुलाई मात्र प्रदान गरेको हो ।  

 

सहकारीका अध्यक्ष पोषणराज सुवेदीले सहकारीले लाभांश बापत १३ प्रतिशतका दरले यस अगाडी नै प्रदान गरिसकेको जनाउँदै बचत गर्ने बचतकर्ताहरुलाई र ऋण लिएर नियमित किस्ता भुक्तान गरेका सदस्यहरुलाई सदस्यहरुको कारोबारको सम्मान स्वरुप सहकारी ऐन २०७४ को दफा ६९ मा व्यवस्था भए अनुसारको संरक्षित पूँजी फिर्ता गरिएको बताउनुभयो । उहाँले भविष्यमा पनि सदस्यको हित र सन्तुष्टिलाई केन्द्रमा राखेर सहकारीको सेवा र कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले गण्डकी साकोस कार्य क्षेत्र भित्रको उत्कृष्ट सहकारीको रुपमा रहेको बताउनुभयो । सदस्यहरुलाई कारोबारको आधारमा प्रोत्साहन तथा पुरस्कृत गर्न व्यवस्था गरिएको संरक्षित पूँजी फिर्ता कोषको सदुपयोग गरेर सदस्यहरुसँगको सम्बन्ध मजबुद बनाएको उल्लेख गर्नुभयो ।  

संस्थाका पूर्व अध्यक्ष वेदप्रसाद गौडेलले यस्ता कार्यक्रमहरुले सदस्यहरुको हित हुनुका साथै संस्थाको गुणस्तरीय मापनमा अब्बल ठहरिने बताउनुभयो । सदस्य भागिरथी सुबेदीले यस्तो पुरस्कार अहिले सम्म कतैबाट पनि नपाएको बताउँदै गण्डकी सहकारीमा जम्मा गरेको बचतमा ब्याज पनि र सेयर लाभांश पनि पाउँदा खुसी व्यक्त गर्नुभएको थियो । 

संस्थाका सचिव कुलप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

संरक्षित पूँजी फिर्ता कोष सहकारी संस्थाको सुन्दर पक्ष हो । यसको सहि सदुपयोगले सदस्य र सहकारी संस्थाको सम्बन्धलाई बलियो बनाउँछ । गण्डकी सहकारीले विगत वर्षहरुदेखि नै संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत तथा ऋणको कारोबारको आधारमा अतिरिक्त प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । अघिल्ला वर्षहरुमा संस्थाको जगेडा कोषलाई बलियो बनाउन जगेडा कोषमा रकमान्तर गर्ने गरेकोमा यसपटक सदस्यलाई नै प्रदान गरेको हो । संरक्षित पूँजी फिर्ता पाउन योग्यता पुगेका सबै सदस्यहरुलाई सदस्यको बचत खातामा जम्मा हुने व्यवस्था मिलाईएको छ ।