गैँडाकोट १ मा वडा कार्यालय भवनको शिलन्यास

२०८० माघ २९ सोमबार ०६:५७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. १ को कार्यालय भवनको आइतबार शिलन्यास गरिएको छ ।

गैँडाकोट १ को आधारभूत स्वास्थ्य इकाइ भवन नजिक वडा कार्यालय बनाउन लागिएको छ । आइतबार विहान धार्मिक विधि अनुरूप गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वडा कार्यालय भवनको शिलन्यास गरेका छन् । नगरप्रमुख अधिकारीले वडा कार्यालय भवनको निर्माणको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । 

गैँडाकोट नगरपालिका नगरपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटाले वर्षायाम अघि नै निर्माण कार्य सकिने गरि काम अघि बढाउन सुझाब दिएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ को कार्यालय भवन निर्माणका लागि सहयोगी जग्गादाता तथा सहयोगी पात्रहरूलाई वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले धन्यवाद ज्ञापन गरेका छन् । ८५ लाख २ हजार ३ सय ८ रुपँैया लागतमा वडा कार्यालय निर्माण गर्न थालिएको र आगामी असार १४ गतेसम्म भवन निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको वडा अध्यक्ष रेग्मीले बताएका छन् ।

वडा कार्यालय शिलन्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।