गैँडाकोटमा मनाइयो सोनाम ल्होछार
गैँडाकोट । ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए मानिसको अस्तित्व नै हराउँछ’ भन्ने नारा सहित गैँडाकोटमा सोनाम ल्होछार पर्व मनाइएको छ ।
शनिवार साङ्ग डोदोन लिङ्ग बौद्ध गुम्बा र नेपाल तामाङ घेदुङ्ग नगर समितिको संयुक्त आयोजनामा सोनाम ल्होछार पर्व मनाइएको हो । साङ्ग डोदोन लिङ्ग बौद्ध गुम्बामा लामागुरु मार्मेन दोर्जे वल लामाले आजबाट बिरालो वर्गलाई विदाई गरी ड्रागन वर्गलाई स्वागत गरिएको जानकारी दिनुभयो ।
यस पर्वमा तामाङ समुदायका व्यक्ति एकै ठाउँमा जम्मा भएर धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्ने गर्छन् । आज परिवारको सुख, शान्तिका लागि ग्रह शान्ति समेत गरिन्छ ।
गैँडाकोट ८ विजय चोकमा भएको कार्यक्रम साङ्ग डोदोन लिङ्ग बौद्ध गुम्बाका अध्यक्ष चिनिमाया तामाङको अध्यक्षता एवं नेपाल तामाङ घेदुङ्ग नगर समितिका अध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख आतित्यमा भएको थियो ।
कार्यक्रममा उपस्थित तामाङ समुदायको पहिचान झल्किने पोशाकमा सजिएका थिए ।