जनक माविले जनकका उत्पादन हाम्रो गौरव, हाम्रो खोजी कार्यक्रम संचालन गर्ने

विज्ञान प्रयोगशाला भवनको उद्घाटन  

२०८० माघ २७ शनिबार १६:५८:०० मा प्रकाशित


गैँडाकोट । जनक नमुना माध्यमिक विद्यालयले ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । 


शनिवार वार्षिकत्सवको अवसरमा विद्यालयले नमुना विद्यालयतर्फ चारतले विज्ञान प्रयोशाला भवनको समेत उद्घाटन गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भवनको उद्घाटन गर्नुभएको हो । नयाँ भवनमा आधुनिक सुविधा सहितका फिजिक्स, केमिस्ट्रि, वायोलोजि र कम्प्युटर प्रयोगशाला रहेका छन् । 

नगरप्रमुख मदनभक्त अधिकारीले जनक नमुना माविले शिक्षाको क्षेत्रमा गरेको काम प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा भौतिक निमार्णलाई मात्र नभई शैक्षिक गुणस्तरमा पनि जोड् दिन आग्रह गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटाले विद्यालयले आगामी दिनमा जनकका उत्पादन हाम्रो गौरव, हाम्रो खोजी कार्यक्रम संचालन गर्ने, नमुना विद्यालय अन्तर्गत आउने बजेटको समुचित प्रयोग गर्ने र समयको माग एवं आवश्यकता अनुरुपमा शिक्षण सिकाईलाई अगाडी बढाउने बताउनुभएको छ ।

जनक नमुना माविका प्रधानाध्यापक चूडामणी शर्माले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम अन्तर्गत हरेक कक्षा कोठामा बुक कर्नर व्यवस्थापन, परीक्षा प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण लगायतको कार्यक्रम सञ्चालन भएको बताउनुभयो । 


कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुने यस विद्यालयमा हाल २ हजार ४ जना विद्यार्थी अध्यनरत छन् । विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय कार्य गर्नका लागि आर्थिक वर्ष २०८०÷२०८१ मा आठ करोड ४८ लाख ४२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको थियो ।  


वार्षिकत्सव कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, जनप्रतिनिधी, शिक्षाप्रेमी, समाजसेवी, अभिभावक लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा यसअघि सञ्चालन भएका विभिन्न खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार वितरण, विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै विद्यार्थीले फुड स्टल, विभिन्न शैक्षिक प्रर्दशनी समेत राखेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक नारायण शर्मा तिमिल्सेनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षक हिमालदेव पंगेनी र विष्णु रिजालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।