गैँडाकोटमा मेयर कप टि–ट्वान्टी क्रिकेट सुरु, उद्घाटन खेलमा गैँडाकोट ३ विजयी

२०८० माघ २७ शनिबार १६:२९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा ‘तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८० सुरु भएको छ । 

नव जागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजित प्रतियोगिताको गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले नव जागरण रंगशालामा निर्माण गरिएको प्याराफिडको समेत समुद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आयोजकलाई यस्ता खेललाई भविष्यमा पनि निरन्तरता दिन आग्रह गर्दै खेलाडीलाई जिल्ला तथा राष्ट्रिय स्तरमा पनि उच्च प्रदर्शन गर्न आग्रह गर्नुभयो । साथै उहाँले खेल र खेलाडीको क्षेत्रमा सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले स्थानीय खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि यस्ता कार्यक्रमले ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   

आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले रंगशाला व्यवस्थित हुँदै गएको बताउँदै क्रिकेट प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । जयश्री खोलातर्फ ड्याम तथा शेरवाल निर्माण, प्याराफिड निर्माण एवं रंगशालाको पूर्वाधारका लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।  

आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं वर्तमान सदस्य पिताम्बर सापकोटाले यसअघि राष्ट्रिय स्तरको गरिएकोमा यसपटक स्थानीय खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि गैँडाकोट नगर कार्यपालिका स्तरको निर्णय अनुरुप वडा स्तरीय प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । 

आयोजक संस्थाका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक विष्णुप्रसाद कँडेलले प्रतियोगितामा १६ वटा वडाले सहभागिता जनाएको जानकारी दिनुभयो ।  

आयोजक संस्थाका सचिव कल्पना देवकोटाले सहजिकरण गर्नुभएको उद्घाटन सत्रमा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल, गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, केन्द्रका लेखा संयोजक नारायणप्रसाद भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

नव जागरण रंगशालामा भएको उद्घाटन खेलमा गैँडाकोट ३ विजयी भएको छ । गैँडाकोट ९ लाई ९ विकेटले पराजित गरेको हो । 

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र द्वितीय पुरस्कार ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याटसम्यान, बेष्ट बलर, बेष्ट विकेट किपरलाई पुरस्कृत गरिने छ । शनिबारदेखी सुरु भएको प्रतियोगिता फागुन २ गतेसम्म चल्ने छ ।   

प्रतियोगितामा गैँडाकोट नगरपालिका प्रबद्र्धक, सेन्ट्रल कलेज प्रयोजक र चन्द्रशेर बालुवा प्रशोधन उद्योग सह प्रयोजकका रुपमा रहेका छन् ।