चितवनमा हुने प्राणप्रतिष्ठा महोत्सवको तयारीका लागि युवाहरू जागे 

२०८० माघ २२ सोमबार १७:५७:०० मा प्रकाशित


चितवन ।  नव– निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिर भरतपुर–४, धर्मचोक, लंकु, चितवनमा आगामी फागुन २ देखि १० गतेसम्म रङ्ग मन्दिर, वृन्दावनधामका पीठाधीश्वर  गोवर्धन रङ्गाचार्य

“बालक स्वामी” को  प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्व तथा नेपाल–भारतका प्रमुख सन्त–महात्मा, विद्वान्, विचारकहरूको उपस्थितिमा हुने  श्रीलक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण– प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को समय नजिकिदै गर्दा युवाहरूको सक्रियता बढ्दै गएको छ। हप्तामा एकदिन एकछिन भन्ने मूल नाराका साथ प्रत्येक सोमवारका दिन  गाँउ, टोलहरूमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको वे ग्रुप नेपाल सम्बद्ध युवाहरूले आज मन्दिर परिसर सरसफाइ गरेका छन्।

कार्यक्रममा सहभागी युवाहरूले यस क्षेत्रको गौरवका रूपमा रहेको  कलात्मक शैलीमा बनेको मन्दिरलाई दिव्यधामका रूपमा विकास गर्नुपर्ने कुरा औंल्याउँदै प्राणप्रतिष्ठा कार्यक्रम सफल पार्न आइपर्ने   हरप्रकारका  सहयोग गर्न  आफुहरू तयार रहेको बताए  । 


मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व विद्यार्थीहरूको सक्रियतामा  यज्ञमण्डप निर्माणकार्य पूरा भइसकेको , भोजनालय निर्माणकार्य पनि लगभग पूरा भइसकेको, मन्दिर परिक्रमा मार्गमा पत्थर लगाउने जस्ता कार्यहरू तीव्रगतिमा अघि बढिरहेको, भगवान् विग्रहहरू  रक्सौल नाकासम्म आइपुगेको र सम्भवतः भोलि या पर्सीसम्ममा लंकुमा आइपुग्ने प्राणप्रतिष्ठा सम्पादन मूल समितिका संयोजक कमलनयन कँडेलले जानकारी दिनुभयो।


भगवान्का विग्रहहरू( मूर्ति ) आउने दिन भजन – कीर्तन, शोभायात्राका साथ मन्दिरमा भित्र्याउने कार्यक्रम रहेको नव मन्दिर निर्माण समितिका अध्यक्ष गोपालप्रसाद कंडेलले बताउनुभयो।