‘त्रिवेणी साहित्य प्रतिष्ठान’को अध्यक्षमा इन्द्रराज पौडेल चयन

२०८० माघ १३ शनिबार १७:४१:०० मा प्रकाशित

गैँडाकोट । ‘त्रिवेणी साहित्य प्रतिष्ठान’को चौँथो साधारण सभा तथा अधिवेशनले इन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा भीमप्रसाद शर्मा, सचिवमा रामहरि शर्मा, सह सचिवमा भूमिश्वर शर्मा, कोषाध्यक्षमा मुक्तिनाथ न्यौपाने रहनुभएको छ । त्यस्तै सदस्यहरुमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ रेग्मी, राधा कोइराला, सुजन अधिकारी, लीला मास्कि राना, शोभा खनाल कोइराला र भूमिका तिमिल्सिना चयन हुनुभएको निर्वाचन समिति संयोजक गोविन्दराज विनोदीले जानकारी दिनुभयो ।  

लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुमाया पन्थी, सदस्यमा मिनाकुमारी खनाल र भानुभक्त सापकोटा रहनुभएको छ । १५ गते साँझ ४ बजे पदस्थापना र सपथग्रहण हुने निर्वाचन समिति सदस्य गोविन्द रिमालले जानकारी दिनुभयो । निर्वाचन समितिमा कृष्णचन्द्र चालिसे समेत रहनुभएको थियो । 

यसअघि संस्थाका अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षतामा बसेको साधारण सभा कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, साहित्यकार चूडामणि बन्धु, चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, डा. होमराज सापकोटा, डा. फणीन्द्र देवकोटा, होमनाथ सापकोटा, शरदचन्द्र पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य इन्द्रराज पौडेलले राख्नुभएको थियो । 

गैँडाकोटको जेठो साहित्यिक संस्था ‘त्रिवेणी साहित्य प्रतिष्ठान’ले स्थापनाको ३४ औँ वसन्तसम्म आइपुग्दा १४४ कृतिहरु प्रकाशित गरेको छ । ३३ वर्ष अघि २०४७ सालमा स्थापना गरिएको ‘त्रिवेणी साहित्य परिषद्’ नामक संस्था २०७७ सालदेखी भने ‘त्रिवेणी साहित्य प्रतिष्ठान’ का रुपमा रहेको छ । संस्थामा हाल साहित्य, कला र संगीत क्षेत्रका १७२ जना आजीवन सदस्य छन् ।  

‘त्रिवेणी साहित्य प्रतिष्ठान’ले साहित्य, कला र संगीतलाई समेट्दै कार्यक्रम अघि बढाएको सचिव भीम प्रसाद शर्माले बताउनुभयो । गत आर्थिक वर्षमा २४ लाख ३० हजार रुपैयाँ आम्दानी विवरण रहेको कोषाध्यक्ष धर्मानन्द शर्मा पौडेलले जानकारी दिनुभयो । 

गैँडाकोट ५ स्थित कुसुमघाटमा शनिबार भएको साधारण सभाले वर्तमानमा कायम रहेका सबै पुरस्कारहरलाई नियमित गर्दै आगामी वर्षका लागि आवश्यकता र परिवेश अनुसार थप पुरस्कार तथा सम्मानहरुको व्यवस्था गर्ने निर्णय गरेको छ । यस वर्ष भरमा कम्तिमा पनि २० वटा थप पुस्तक प्रकाशित गर्ने, सृजनात्मक घुम्ती कार्यक्रमहरु नियमित गर्ने, कला र संगीत क्षेत्रका सृजनात्मक कृयाकलापहरुलाई प्रवर्द्धनात्मक हिसाबले प्राथमिकतामा राखी सोहि अनुसार योजना र कार्यान्वयन गर्ने लगायतक निर्णय गरेको छ ।