अक्सफोर्डका विद्यार्थी जापान जान पाउनेगरी सम्झौता 

२०८० मङ्सिर २४ आइतबार १६:१५:०० मा प्रकाशित

गैँडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले उच्च शिक्षा एवं रोजगारीका लागि जापानको आईएमएसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

शैक्षिक बेरोजगारीलाई कम गर्न अक्सफोर्डबाट कुनैपनि संकायमा स्नातक गरेका विद्यार्थीहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्रको हैसियतमा जापान जाने व्यवस्था मिलाएको कलेजका प्रिन्सिपल प्रो. ई. हरि भण्डारीले जानकारी दिनुभयो । देशमा देखा परेको शैक्षिक समस्याहरुमध्ये रोजगारी र उच्च शिक्षा अध्ययन गर्ने नाममा विदेश पलायन हुने र देशको अर्थतन्त्रलाई नै नकरात्मक प्रभाव पार्नेगरी वार्षिक करिब २ लाख विद्यार्थीहरुबाट ४ खर्ब भन्दा बढी रकम प्रतिवर्ष देश बाहिरि रहेको अवस्थामा यसले त्यसलाई केही भएपनि कम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कलेजले यसै शैक्षिकसत्रबाट बिई (कम्प्युटर)को पठनपाठन समेत सुरुवात गरेको छ भने बिएचएम÷एमई (स्ट्रक्चर ईन्जिनियरिङ) को कक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

यसअघि आजै कलेज परिसरमा भएको गुणस्तरीय उच्च शिक्षा र कार्यान्वयन विषयक कार्यक्रममा पोखरा विश्व विद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्रो राजेश कुमार ठगुराठी, पोखरा विश्व विद्यालयका व्यवस्थापन संकायका डिन प्रो. डा. दयाराज ढकाल, आईएमएसी इन्जिनियरिङ कम्पनी जापानका चिफ एक्जुकेटिफ अफिसर यामागुची योसिहितो, टकुवा कर्पोरेसन जापानका प्रेसिडेन्ट ओकुदा सिन्जीले अक्सफोर्ड कलेज गर्व गर्न लायक बनेको भन्दै प्रगतिको कामना गरेका थिए । कार्यक्रमको सहजिकरण अक्सफोर्डका कोआर्डिनेटर तिलकराम पन्थीले गर्नुभएको थियो ।  

यसअघि चिनको नान्जिङ युनिभर्सिटी अफ एरोनाउटिक्स एण्ड एस्ट्रोनाउटिक्ससँग उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा वार्षिक ३ जना र आंशिक छात्रवृत्तिमा सयौं संख्यामा विद्यार्थीले अवसर पाउने व्यवस्था मिलाएको थियो । 

२०५७ सालमा भाडाको घरबाट यात्रा सुरुवात गरेको कलेजले हाल सुविधा सम्पन्न भवनबाट विसिए २४औँ व्याच, बिबिए २० औँ व्याच, बिई (सिभिल) मा १६ औं व्याच, बिई (इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स) मा १५ औं व्याचमा अध्यापन गराइरहेको छ । अक्सफोर्ड कलेजले बिसिएतर्फ १० वटा स्वर्ण पदक विश्वविद्यालयले प्रदान गरेकोमा ८ वटा प्राप्त गरेको थियो भने बिइ (सिभिल) मा पहिलो र दोस्रो व्याचमा विश्वविद्यालय प्रथम हुन सफल भएको थियो । कलेजले दर्जनौ अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरु समेत प्राप्त गरेको छ ।