३ प्रदेशमा हिमपात पर्नाले तापक्रम क्रमिक रूपमा घटि रहने

२०८० मङ्सिर ३ आइतबार ०६:१२:०० मा प्रकाशित

आज तीनवटा प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना देखिएको हो। पश्‍चिमी वायुको आंशिक प्रभावका कारण देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्‍न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सफा रहनेछ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति लुम्बिनी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।