नवलपुरका व्यवसायीसँग पर्यटन मन्त्रालय गण्डकीको अन्तरक्रिया
देवचुली । गण्डकी प्रदेशका पर्यटन मन्त्री दिपेन्द्रबहादुर थापाले नवलपुरको औधोगिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । प्रदेशको पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले प्रयास गरिरहेको बताउँदै उहाँले पर्यटन देश विकासको मेरुदण्ड रहेको समेत बताउनुभयो । शनिबार देवचुलीको पिप्रहर सामुदायिक होमस्टेमा नवलपुरका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले व्यवसायीले पनि गुणस्तरीय वस्तु र सेवाको उत्पादन र आपूर्तिमा जोड दिनुपर्ने बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको सो कार्यक्रममा नवलपुरका व्यवसायीहरुले व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा परेको बताएका थिए । उनीहरुले मध्यवर्ती क्षेत्रले पारेको प्रभाव, व्यवसाय दर्ताका झण्झटिला पक्ष, दोहोरो कर प्रणाली सम्बन्धी असन्तुष्ट व्यक्त गरेका थिए । व्यवसायीबाट आएका सुझावलाई आत्मसाथ गरी अघि बढ्ने मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा उपभोक्ता हित तथा मन्त्रालयका गतिविधीका विषयमा रामप्रसाद आचार्य र औद्योगिक ब्यवसायी नियमावली २०८० को मस्यौदाका विषयमा अरुण अधिकारीले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण मन्त्रालयका शाखा अधिकृत सृजना सुवेदीले गर्नुभएको थियो ।
मन्त्रालयले नवलपुरका उद्योग, वाणिज्य तथा पर्यटनसँग सम्बन्धित व्यवसायीहरुसँग गुणस्तरीय वस्तु र सेवाको उत्पादन र आपूर्ति सम्बन्धी विषयमा अन्तरक्रिया गरेको हो ।