विजय सामुदायिक शिक्षा सदनमा अहिंसात्मक सञ्चार सम्बन्धि जीवनोपयोगी तालिम सुरु

२०८० मङ्सिर १ शुक्रबार १९:४९:०० मा प्रकाशित

गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनमा आजदेखि ३ दिने अहिंसात्मक सञ्चार सम्बन्धि जीवनोपयोगी तालिम सुरु भएको छ । गैँडाकोटमा रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुलाई लक्षित गर्दै सो तालिम गरिएको हो ।

सौहार्दपूर्ण कक्षाकोठा तथा अहिंसात्मक सञ्चार सम्बन्धि जीवनोपयोगी तालिम विजय सामुदायिक शिक्षा सदन र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) काठमाण्डौँको संयुक्त आयोजनामा र जीआईजेड(GIZ)तथा नागरिक शान्ति समाजको सहयोगमा भइरहेको छ । तीन दिन सम्म कक्षाकोठाको व्यवस्थापन, सहिष्णुता, सिकाइ, उत्प्रेरणा, शक्ति, पृष्ठपोषण लगायतका विषयमा छलफल हुनेछ ।

सो तालिमको औपचारिक सत्रमा बोल्दै विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.का उपाध्यक्ष परमेश आचार्यले जीवनोपयोगी शिक्षणका लागि, सिकाइमा आउने चुनौतीलाई पन्छाउन मद्त गर्ने र तनाव व्यवस्थापनमा समेत सहयोगी भएकाले यो तालिम राम्रो रहेको बताउनुभयो । विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले यस तालिमले विद्यार्थी र शिक्षकको आत्मीयता, सम्बन्ध, समानुभुति, कक्षा कोठामा सहसिर्जना, अप्ठ्यारा अवस्थामा आवेग व्यवस्थापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । जीवनोपयोगी सिपले अझै सहज शिक्षणमा टेवा पु¥याउने उहाँले बताउनुभयो। विद्यालयका अंहिसात्म सञ्चार अभियान फोकल पर्सन शिक्षक सरिना पौडेल भट्टराइले यस तालिमले आफैले आफुलाई चिन्न सघाउने बताउनुभयो ।

कार्यक्रममा विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष टिकाराम कँडेल, सदस्य रामचन्द्र चालिसे , लेखा तथा प्रशासकिय अधिकृत कृष्ण सापकोटा विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो। यस ३ दिने तालिमको सहजिकरण क्यानेडियन मूलका प्रशिक्षक मेरोनेल डि वाइल्डे (प्रमाणित अन्तरास्ट्रिय अहिंसात्मक सञ्चार प्रशिक्षक), अहिंसात्मक सञ्चार प्रशिक्षकद्वय मणिराम कँडेल तथा श्रीराम तिमिल्सिना, साथै प्रो पब्लिकका प्रोजेक्ट कोअर्डिनेटर किशोर कुइकेलले गर्नुहुनेछ ।