गैँडाकोटमा मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

२०८० कार्तिक २५ शनिबार १६:०८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा शनिबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । 

शनिबार गैँडाकोट ८ स्थित गैँडाकोट आयुर्वेद औषधालयमा भएको कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आयुर्वेदको महत्त्व बढ्दै गएको बताउँदै यसको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । आयुर्वेद चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति भएको भन्दै यसलाई अवलम्बन गर्दै आफूलाई स्वस्थ राख्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

गैँडाकोट आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले आयुर्वेद, योग र स्वास्थ्य जीवनशैलीको बानी बसाल्ने हो भने भविष्यमा रोगको सिकार हुन नपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै गैँडाकोट आयुर्वेद औषधालयका प्रमुख, वरिष्ठ कविराज विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको हालसम्म २ हजार ५ सय जनाले सेवा लिएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष मात्रै गैँडाकोट आयुर्वेद औषधालयमा १० हजार ८ सय ३० जनाले सेवा लिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

धन्वन्तरिलाई आयुर्वेद चिकित्साक्षेत्रका व्यक्तिहरूले विभिन्न कार्यक्रमको आयोजनाका साथ पूजाआजा गरी स्मरण गर्दछन् । विश्वकै प्राचीन चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रणेता धन्वन्तरिको उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ । धन्वन्तरिको कार्तिक त्रयोदशीका दिन उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ । नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि यो दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि मनाउँदै आएका छन् ।