गैंडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले वार्षिक नीति तथा कार्यक्रम बनाउँदैछ । वर्षभरि सञ्चालन गरिने कार्यक्रमका सम्बन्धमा सरोकारवालाहरुसँग बुधबार छलफल गरेको छ । समूहको सभाहलमा आयोजित वार्षिक कार्यक्रम एवं कार्यशाला गोष्ठीमा वनका संस्थापक अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष खगराज सापकोटाले आयमुलक कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो । थोरै तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । सापकोटाले वातावरणमैत्री उद्यानमा सभाहल निर्माणमा जोड दिनुभयो ।
गैँडाकोट ७ का कार्यबाहक वडा अध्यक्ष तारपति त्रिपाठीले एकद्वार प्रणालीबाट काम गर्न सके प्रभावकारी हुने बताउँदै आयमुलक कार्यक्रममा जोड दिन आग्रह गर्नुभयो । गैँडाकोट ९ का कार्यबाहक वडा अध्यक्ष गमता पाण्डेले महिला सशक्तिकरण, गरिब तथा जीविकोपार्जनका कार्यक्रम गर्न सुझाव दिनुभयो । सब डिभिजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसीले सकरात्मक नतिजा दिने र दिर्घकालिन हुने खालका कार्यक्रम एवं संरचना निर्माण गर्न आग्रह गर्दै डिभिजन वन तथा अन्य वनसँगको सहकार्यलाई जोड दिन आग्रह गर्नुभयो ।

समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले उपभोक्ता सदस्यहरुको स्तरीकरण करिब सम्पन्न भएको जनाउँदै वन क्षेत्रमा ६५ घरधुरी गरीब विपन्न परिवार रहेको बताउनुभयो । अबका कार्यक्रम सोही परिवार लक्षित हुने बताउँदै आएका सुझाव नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो । १० वर्षअघि वन क्षेत्रमा २६२ घरधुरी गरीब विपन्नमा सूचिकृत थिए । समूहले हाइटेन्सन लाइनमुनिको खाली जग्गामा डाँले घाँस, नेपियर, अदुवा, बेसार, सिमले तरुल, उँखु रोपण कार्यलाइ निरन्तरता दिने उहाँले बताउनुभयो । त्यसको अलवा वातावरणमैत्री उद्यान व्यवस्थापनलाई जोड दिने बताउनुभयो ।
वनले यहि असोज १२ गते ११ औँ वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । वनमा हाल ११८९ घरधुरी उपभोक्ता सदस्य रहेका छन् । जसमध्ये ४८.३५ प्रतिशत महिला छन् । साधारण सभामा आर्थिक नियमावली र प्रशासनिक नियमावली प्रस्तुत गर्ने तयारी भइरहेको वनका कार्यालय सचिव हरिप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
वनका कोषाध्यक्ष नेत्रराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको औपचारिक कार्यक्रमको सञ्चालन वनका सचिव उमाकुमारी पाण्डेले गर्नुभएको थियो ।
