शिक्षक, सक्षमता र भद्र अवज्ञा
शिक्षक गुरु हुन् । गुरुको अर्थ : ‘गु’ भनेको अन्धकार र ‘रु’ को अर्थ प्रकाश । अन्धकारलाई मेटाएर उज्यालो संसार बनाउने व्यक्ति गुरु अर्थात शिक्षक हुन् । शिक्षाको गुणस्तर अभिवृद्धिमा शिक्षकको सबै भन्दा ठूलो भूमिका हुन्छ । शिक्षक स्वयंले आफ्नो जिम्मेवारी र कर्तव्यलाई पालना मात्र गरिदिए पनि शिक्षाको क्षेत्रमा धेरै सुधार आउँछ । शिक्षक सम्मानित पेशा हो । गुरुका विषयमा प्रश्न उठाउन हाम्रो संस्कारले कहिल्यै सिकाएन । प्रश्न तबमात्र उठाउन बाध्य भइन्छ जब गुरुले धर्म निर्वाह गर्न अल्छि गरिदिन्छन्, सही बाटो भुलिदिन्छन् ।
शिक्षक सक्षमताको प्रारुप २०७२ ले उल्लेख गरेका ८ वटा पक्ष शिक्षकका गहना हुन् । बहुमूल्य सम्पत्ति हुन् । केही शिक्षकहरु उज्यालो प्रकाश झैँ बलिरहनुभएको छ । उहाँहरुलाई हार्दिकतापूर्वक नमन गर्दछु । तर धेरै जसो शिक्षकहरुको साझा समस्या बनेको छ ः हरेक कुरामा भद्र अवज्ञा । आफ्नै क्षमता अभिवृद्धिका लागि शिक्षकले भद्र अवज्ञा गर्दै जाने हो भने न त शिक्षकको क्षमता विकास हुन्छ, न त विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धी हासिल हुन्छ ।
यहाँनेर लेखक हरिहर तिमिल्सिनाको शब्द सापटी लिएँ । उहाँले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो “शिक्षकले पढिदियो भने धेरै समस्याको समाधान हुन्छ । पढ्ने शिक्षकको कक्षा नै अर्कै हुन्छ । पढ्ने शिक्षक मौरी जस्तो हुँदो रहेछ । मौरीले कहाँ कहाँ पुगेर फूलको रस चुसेर ल्याए जस्तै पढ्ने शिक्षकको कक्षा मधुमय हुन्छ ।” शिक्षकहरुले आफ्नो ज्ञानको दायरा बढाउन अन्य पाठ्य सामग्री नपढेसम्म कक्षा कोठा राम्रो हुँदैन । अन्य सामग्री पढ्ने कुरा त परको कुरा भयो, पाठ्यवस्तु नै नपढिकन, कुनै तयारी नै नगरिकन अधिकांश शिक्षक कक्षा कोठमा प्रवेश गर्नुहुन्छ ।
मैले साना नानीहरुको कपिमा देखेको छु । मर्ज भइसकेका बैंकहरुको नाम वित्तीय संस्थाको सूचिमा राखेर पढाउनुहुन्छ । शिक्षकहरु अद्यावधिक हुनु जरुरी छैन र ? अस्तित्वमा नरहेका बैंकका नामहरु किन रटाउनुहुन्छ ? शिक्षक अद्यावधिक हुन नचाहनु, भद्र अवज्ञा होइन र ?
जुन शिक्षक कक्षा कोठा भित्र प्रवेश गर्दा शिक्षण सामग्री विना नै प्रवेश गर्नुहुन्छ उहाँले के शिक्षण गर्नुहुन्छ ? के सिकाउनु हुन्छ ? उहाँले मात्र पढाउनुहुन्छ । शिक्षण सामग्री बनाउने, सन्दर्भ सामग्री अध्ययन गर्ने, सम्बन्धित विषयको पाठ्यक्रम पढ्ने, पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धी के हो थाहा पाउने, शिक्षक निर्देशिका अध्ययन गर्ने जस्ता विषयमा शिक्षकहरुले भद्र अवज्ञा गर्दै आउनुभएको छ ।
विश्वविद्यालयमा पेडागोजी पढ्नुभयो । जानेका बुझेका शिक्षण सिकाइका तौर तरिका उतै छोड्नुभयो । तालिमहरु लिनुभयो । सिकेका कुरा प्रदान गर्न, अवलम्बन गर्न भद्र अवज्ञा गरिरहनुभयो । कक्षा कोठामा भित्र छिर्दा प्रत्येक पाठका योजना निर्माण नगरी कसरी सिकाइ प्रक्रिया प्रभावकारी हुन सक्छ । पाठको विशिष्ट उद्देश्य के हो ? शैक्षिक सामग्री के प्रस्तुत गर्ने ? शिक्षण सिकाइ क्रियाकलाप के गराउने ? मूल्यांकन कसरी गर्ने ? गृहकार्य के दिने ? जस्ता योजना नबनाइ कक्षा कोठमा पस्ने र आवश्यक भएपनि मतलब नराख्ने यो भद्र अवज्ञा कहिले अन्त्य हुन्छ होला । पाठ्यघण्टा, पाठ्यक्रम लागयतका विषयको जानकारी राख्नुपर्ने होइन, वर्षौ पढाएका शिक्षकले यस्ता विषयमा अद्यावधिक हुन नखोज्नु भद्र अवज्ञा होइन र ?
सिकाइ सुनिश्चितताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्नु शिक्षकको दायित्व नै हो । हाम्रा विद्यालयहरुमा निरन्तर विद्यार्थी मूल्याङकन कार्यान्वयनमा आउन सकेकै छैन । निरन्तर विद्यार्थी मूल्यांकनका लागि प्रति विद्यार्थी रु ११० रुपैँया राज्यले दिन्छ । विद्यार्थीको प्रोफाइल निर्माणका लागि एउटा १० रुपैँयाको रेकर्ड फाइल पनि नकिनी अन्य शीर्षकमा पैसा खर्च हुन्छ । यो विद्यालय प्रशासनले गरेको भद्र अवज्ञा होइन र ?
एसईईको ग्रेडिङमा परिक्षाफल प्रकाशन हुन्छ । नवलपुरका कतिपय विद्यालयहरु केही दिनअघि पहिलो त्रैमासिक परिक्षामा पुरानै ढर्रामा परीक्षाफल प्रकाशन भए । मूल्याङ्कन विधिका नयाँ नयाँ अभ्यास आएका छन् । शिक्षकहरु, विद्यालय प्रशासन अद्यावधिक हुन नखोज्दा शिक्षाको गुणस्तर खस्किएको छ । यी कुरा शिक्षकले गरेका भद्र अवज्ञा होइनन् र ?
शिक्षकहरु बालबालिकाहरुको विविध सिकाइ आवश्यकता पहिचान गरी सो अनुरुप शिक्षण गर्न सक्षम हुनुपर्दछ । यो शिक्षकको सक्षमता हो । मैले आसपासमा देखेका विद्यार्थीहरुमा शब्द खुट्याउन नसक्ने समस्या छ । सबै विद्यार्थीहरुलाई एउटै बास्केटमा राखेर उपचार गर्दै छौँ । बालबालिकाका समस्या फरक फरक छन् । तर हाम्रो उपचार विधि एउटै छ । सररर पाठ पढ्न सक्ने र मात्रा पनि छुट्याउन नसक्नेलाई एउटै तरिकाले सिकाइ गरिरहेका छौँ ।
बालबालिकाहरुको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासको ज्ञान तथा त्यसको शिक्षणसंगको सम्बन्ध बारेमा जानकारी राख्नु सक्षमता हो । बालबालिकाको पूर्व ज्ञानको अवस्थाका विषयमा जानकारी नै नराखी अघि बढ्दा उनीहरुमा मानिसक रुपमा कस्तो तनाव उत्पन्न हुन्छ होला ? प्रत्येक बालबालिकाले सिक्ने अधिकार छ र सिक्न सक्छन् । उनीहरुका लागि वातावरण बनाउनुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि वातावरण नबनाइदिनु भद्र अवज्ञा होइन र ?
उदार कक्षोन्नती एउटा समस्याका रुपमा विकसित हुँदैछ । शिक्षक र विद्यालयकै भद्र अवज्ञाका कारण उदार कक्षोन्नतीमा समस्या बढ्दै गएको छ । कुनै पनि विद्यार्थी फेल हुँदैन । उनिहरु अर्को कक्षामा चढ्छन् । सबै विद्यार्थीको सिकाइ उपलब्धी समान भएर अर्को कक्षामा गएका होइनन् । अघिल्लो कक्षामा रहँदा सिकाइ उपलब्धि पूर्ण नभएका बालबालिकाहरुका लागि छुट्ै कक्षा चलाएर ती सिकाई उपलब्धी पुरा गर्न कोशीस गर्नुपर्दछ । त्यसपछि मात्र नयाँ कक्षाको पाठ्यवस्तुमा घुलमिल हुन सजिलो हुन्छ । यो सबै प्रक्रिया र ज्ञान भएर पनि कार्यान्वयनमा जान नचाहनु पनि भद्र अवज्ञा होइन र ?
बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि कक्षा व्यवस्थापन गर्न शिक्षक सक्षम रहन जरुरी छ । सबै सिकारुलाई रचनात्मक बन्न प्रेरित गरिनुपर्दछ । परियोजनामा आधारित शिक्षण क्रियाकलापले विद्यार्थीलाई सबैभन्दा बढी सिर्जनशील बन्न प्रेरित गर्दछ । यो सबै शिक्षकलाई थाहा नभएको होइन थाहा भएर पनि कार्यान्वयन गर्न नचाहनु भद्र अवज्ञा होइन र ?
प्रत्येक विद्यालयमा सरकारी तहबाट प्राप्त बजेटले साना ठूला पुस्तकालय र कम्प्युटर ल्याब बनेका छन् । ती कोठामा कम्प्युटर र पुस्तकहरु धूलोले छोपिएका छन् । व्यवहारिक शिक्षण सिकाइले सिकाइ उपलब्धि राम्रो हुन्छ भने शिक्षकहरुलाई राम्रोसँग थाहा छ । कम्प्युटर कसरी अन गर्ने ? भनेर कक्षामा रटाउनुुभन्दा प्रयोगशालामा आफै अन गर्ने अवसर दिनु प्रभावकारी शिक्षण सिकाइ हो भन्ने थाहा छ । थाहा हुँदा हुँदै पनि कार्यान्वयन गर्न नखोज्नु भद्र अवज्ञा होइन र ?
प्रत्येक कक्षा कोठामा बुक कर्नर राख्नका लागि सरकारले प्रति विद्यार्थी रकम पठाउँछ । के हामीले प्रत्येक कक्षा कोठामा उनीहरुले रुचिले पढ्न पाउने पुस्तकहरु राखिदिएका छौँ । पुस्तक नराखेपनि राज्यले दिएको रकम त फेरि लिएकै छौँनी । अतिरिक्त पुस्तक पढ्न पाउँदा उनीहरुको सिकाइको स्तर बढ्छ, ज्ञान बढ्छ भनेर थाहा पाएका छौँ । तर कार्यान्वयनमा ह्या भन्ने प्रवृत्ति के भद्र अवज्ञा होइन र ? कुनै विद्यार्थीलाई अभिभावकले कलम किन्न दिनुभएको २० रुपैँया, विद्यार्थीले अरु कुनै चीज किन्यो भने हामी गाली गछौँ, अनुशासन भएन भन्छाँै । तर राज्यले एउटा शीर्षकमा खर्च गर भनेर पठाएको रकम हामी अन्य शीर्षकमा खर्च गछौँ । अनुशासन सिकाउने पाठशालाले आफूले चाँहि अनुशासन पालना गर्नु पर्दैन र ?
शिक्षकको अर्को सक्षमता भनेको कानुनी आधार तथा पेशागत आचारसंहिता मान्नु हो । प्रचलित ऐन नियम तथा सामाजिक मूल्य मान्यता अनुकुल पेसागत आचरण प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी तथा उत्तरदायित्व बहन गर्न सक्षम हुनुपर्दछ । राज्य र विभिन्न शैक्षिक निकायहरुले बनाएका विधि र प्रक्रिया मान्नु पर्दछ । आफूले चाँहि शैक्षिक निकायले भनेका केही कुरा नमान्ने अनि विद्यार्थीलाई नियम कानुन मान्नु पर्दछ भनेर सिकाउँदा अलि अप्ठेरो पो लाग्छ कि ? थाहा भएर पनि यसो गरिएको हो भने भद्र अवज्ञा भएन र ?
शिक्षकको अर्को सक्षमता भनेको सूचना तथा सञ्चार प्रविधिमा अभ्यस्त हुनु, अद्यावधिक हुनु पनि हो । सिकाइ सहजीकरणका सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग उत्तम हुन्छ । विद्यालयमा भएका सञ्चार प्रविधिको उचित प्रयोग ज्ञान भएर पनि गरिएन भने के त्यो भद्र अवज्ञा भएन र ?
नयाँ नयाँ शिक्षण प्रक्रियाका विषयमा अद्यावधिक हुन सक्दैनौँ र भएका स्रोत साधनको प्रयोग गर्न असमर्थ छाँै, जानेका कुरा व्यवहारमा उतार्न झझण्ट लाग्छ भने पेशा परिवर्तन गर्न जरुरी छ । शिक्षण पेशा त प्यासन हुनेहरुका लागि हो । हरेक कुरा जानेर पनि, बुझेर पनि भद्र अवज्ञा मात्र गरिरहने हो भने बालबालिकाको सिकाइ उपलब्धिस्तर कसरी माथि उठ्ने हो ? शिक्षकहरुको भद्र अवज्ञा देख्दा लाजलाई पनि लाज लाग्न थालिसक्यो होला ।
लेखक शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका जिल्ला सदस्य, विजय एफएमका स्टेशन म्यानेजर हुनुुहन्छ ।