‘फिल्म हेम्जाकोटले सिंहदरबारलाई प्रश्न गर्छ’

२०८० जेठ १६ मंगलबार १४:३८:०० मा प्रकाशित

काठमाडौं । फिल्म ‘वेलकम टु हेम्जाकोट’ हिट हुनेछ भन्ने कुरामा निर्देशक सरोज पौडेल आशावादी छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनी आशावादी सुनिए । पोखरा नजिकको थलो हेम्जाकोट ठाउँको कथावस्तुमा छायांकन गरिएको यो फिल्मले बेरोजगार पात्रको संघर्षको कथा पेश गर्छ ।
फिल्ममा मुख्य चार पात्र छन् । धेरै नपढेको र बेरोजगारी एक युवक छ, जोसँग उसका बाबुआमा आजित छन् । ढिलै भएपछि जिन्दगीले सुख ल्याउँछ भन्ने आशामा छ ऊ । केही सीप नलागेपछि विदेश जाँदा बाटोमा उसले धेरै हैरानी खेप्छ । फिल्मका चार पात्रको अलग लक्ष्य र संघर्षलाई लिएर निर्देशक पौडेलले फिल्म बनाएका छन् ।
उनलाई लाग्छ, यो फिल्म नीति बनाउन सिंहदरबारमा बसेकालाई प्रश्न पनि हो । भन्छन्, ‘बेरोजगारी र त्यसले निम्त्याएका दुःखसँग यो फिल्मले रिलेट गर्छ ।’ मल्टिस्टारर यो फिल्ममा उनले अन्तरजातीय प्रेमको कथावस्तु पनि उधिनेका छन् । भन्छन्, ‘जति नै ठूलो भाषण गरे पनि गाउँमा अझै पनि जातीय समस्या छ । जातलाई लिएर प्रेममा लडाइँ हुन्छ । केही प्लट रुकुमको घटनालाई लिएर लेखिएको छ ।’
निर्देशक पौडेल फिल्मको स्क्रिप्टमा विश्वास गर्छन् । उनलाई थाहा छ फिल्ममा दर्शक तान्ने स्टार त छैनन्, तर उनी हेरेका दर्शकलाई मनोरञ्जन दिने कुरामा आशावादी छन् । ‘तीन–चारसय खर्च गरेर समय दिइसकेपछि एकछिन भए पनि मनोरञ्जन गर्नुहुन्छ,’ उनले भने ।
‘मलाई लाग्छ कन्टेन्टले अर्थ राख्छ । पछिल्लो समय स्टारका फिल्म पनि फ्लप भएका छन् । उदाहरणका लागि बलिउडमै हेरौं द केरला स्टोरीले कन्टेन्टकै कारण कति राम्रो कमाइ गरेको छ । यसकारण विषयवस्तु महत्वपूर्ण हो,’ उनले भने ।
फिल्मको शीर्ष भूमिकामा छन् विनोद न्यौपाने । यसअघि उनले केही सोसल र कमेडी फिल्म गरे । उनले यसअघि गरेको ‘कमलेको बिहे’ रिलिज हुन पाएन । ‘मैले मज्जाले एक्सप्लोर गरेर काम गरेको फिल्म हो यो,’ उनले भने, ‘मैले यी फिल्मबाट परिपक्व हुनेभन्दा पनि सिकिरहेको छु ।’
फिल्ममा बुद्धि तामाङ पनि छन् जो सहायक भूमिकामा देखिनेछन् । छक्कापञ्जा र कबड्डीजस्ता ब्लकबस्टर फिल्ममा अभिनय गरेका उनलाई दर्शकले भिन्न चरित्रमा देख्न पाउनेछन् । ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ,’ उनले भने ।
विनोद आफूलाई एक्टरको रुपमा चिनाउन थाल्छन् । ‘म एक्टर हुँ किनभने स्टार कोही पनि हुनसक्छ । आजभोलि त धेरै प्लेटफर्म छन्, जो पनि स्टार हुन सक्छ । तर एक्टर सबै हुन सक्दैन,’ उनले भने, ‘यो क्षेत्रमा जति जानें, सिकें शतप्रतिशत दिने प्रयास गरेको छु,’ उनले भने ।
प्रेसमिटमा डेब्यु गर्ल अम्बिका तामाङले आफूले गरेको पात्रबारे बोलिन् । ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु । जसले लोकसेवा परीक्षाको तयारी गरेको छ । यो पात्रसँग मेरा केही स्वभाव पनि मिल्छन् । म ओखलढुंगामा जन्मिएकी हुँ । गाउँमा गरेका संघर्षका कुरा मिल्छन्,’ उनी भन्छिन् । उनले अभिनय करिअरलाई अघि बढाउने तयारीमा आफू जुटेको बताइन् । फिल्म जेठ २६ मा प्रदर्शन तयारीमा छ ।