नगरस्तरीय शिक्षक हाजिरीजवाफमा अमरज्योती मावि प्रथम 

२०८० जेठ १५ सोमबार १९:१०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकामा नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा अमरज्योती माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै द्वितीय गैँडाकोट इङ्गलिस स्कूल र तृतीय श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालय भएको छ । 
अमरज्योती माध्यमिक विद्यालयको प्रतिनिधित्व शिक्षक रोशन मल्ल, रमेश अधिकारी र शिक्षिका जानुका लम्सालले गर्नुभएको थियो । त्यस्तै गैँडाकोट इङ्गलिस स्कूलको तर्फबाट शिक्षक जीवन दवाडी, नरहरि सापकोटा र शिक्षिका गँगामाया गुरुङ्गले प्रतिनिधित्व गर्नुभएको थियो । भने श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालयको तर्फबाट शिक्षक विपिन पोख्रेल, एकराज शर्मा र शिक्षिका माया गुरुङ्गको प्रतिनिधित्व रहेको थियो । 
गैँडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा गैँडाकोट नगरपालिकाका सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयको सहभागिता रहेको थियो । 
नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा प्रतिस्पर्धाका लागि भने ६ वटा विद्यालयहरु छनौट भएको थियो । जसमा नवदुर्गा आधारभुत विद्यालय, जनता आधारभुत विद्यालय, श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालय, विजय सामुदायिक शिक्षा सदन, गैँडाकोट इङ्गलिस स्कूल, अमरज्योती माध्यमिक विद्यालय छनौट भएको थियो । 
गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका प्रमुख बालकृष्ण चापागाईले शिक्षकहरुको खोजिनीति गर्ने बानिको विकास हुने व्यवहारमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।