अनमोललाई लिएर फिल्म बनाउन लागेका रोहितलाई प्रष्टीकरण दिंदाको हैरानी

२०८० जेठ ९ मंगलबार १२:२१:०० मा प्रकाशित

काठमाडौं । अनमोल केसीलाई लिएर नयाँ फिल्म बनाउन लागेका निर्माता रोहित अधिकारीलाई एउटै प्रष्टीकरण दिंदा दिंदा हैरान भइसकेको छ । केही दिन पहिले फेसबुकमार्फत उनले नयाँ फिल्म ‘फर्की फर्की‘ बनाउने घोषणा गरेका थिए । तर मिडिया र दर्शकले अधिकारीलाई सोधिरहेका छन्– कतै अनमोलले यो फिल्म पनि साइन गरेर छाड्ने त हैनन् ?
यस्तो प्रश्नले घेरेपछि रोहितले सोमबार राति फेसबुकमा लेखे, ‘यो फिल्म अनमोलको प्रोजेक्ट हो र यसमा हामी इन भएका हौं । त्यसैले हामीले फिल्म छाड्दैनौ । फिल्म भनेकै डेटमै सुटिङमा जान्छ ।’ यो फिल्म आफूहरुको भन्दा अनमोलकै इच्छा र रुचिमा निर्माण हुन लागेको समेत उनले बताए ।
अधिकारीले भने, ‘दर्शक र मिडियाले शंका लागेर मलाई सोधिरहनुभएको छ । हामी समयमै सुटिङमा जान्छौं । यो प्रोजेक्ट हाम्रोभन्दा पनि अनमोलको रुचिमा बढी हुन लागेको हो ।’ जसिता र अनमोललाई शीर्ष भूमिकामा लिएर बनाउने भनिएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्ने जनाइएको छ । यसबारे अनमोलसँग सम्पर्क स्थापित गर्न खोज्दा उनको फोन उठेन ।
अनमोललाई लिएर दर्शक र मिडियाको यस्तो शंका चाहिं पहिलोपटक होइन । मुुकुन्द भट्टको एक्सन प्रोजेक्ट ‘एक्स नाइन’सहित केही साइन भएका प्रोजेक्टलाई अनमोलले छाडेका छन् । पूजा शर्माले निर्माण गर्ने भनिएको अनटाइटल फिल्मबाट पनि उनी पछि हटेको चर्चा छ । ‘जेरी अन टप’ समयमै छायांकनमा जान सकेको छैन । अनमोलको पछिल्लो फिल्म ‘२.० छड्के’ लप भएपछि उनको कास्टिङलाई लिएर कतिपय झस्किएका छन् । यो अन्योल र अलमलको बीचमा गत साता अनमोलले रोहितको फिल्म साइन गरेका हुन् ।
भुवन र रोहित दुवैको दाबी ः भदौदेखि सुटिङ थाल्छौं
गत साता अनलाइनखबरसँग कुरा गर्दै निर्माता तथा निर्देशक भुवन केसीले भदौ १० गतेदेखि होम प्रोडक्सन सुपर काजल फिल्म्सको नयाँ फिल्मको छायांकन सुरु हुने बताए । मिति नै तोकेर उनले यो अनटाइटल फिल्मको सुटिङ हुने बताए । शीर्ष भूमिकामा अनमोल हुनेदेखि आफूले नै निर्देशन गर्ने सम्भावना रहेको पनि उनले बताएका थिए ।

केसीले यसो भनेको केही दिनमै अर्का निर्माता रोहित अधिकारीले अनमोललाई लिएर भदौदेखि नै सुटिङ सुरु हुने कुरा गरे । यी दुवै निर्माता आफ्नो फिल्म सोही मितिमै सुटिङमा जाने दाबी गर्छन् । यो परस्पर विरोधभासपूर्ण अभिव्यक्तिले झनै अन्योल बढाएको छ । ‘२.० छड्के’को असफलतापछि अनमोलसामु प्रतिष्ठालाई पुनः कायम गराउनुपर्ने चुनौती छ ।