गैँडाकोटका विद्यालयमा बुक कर्नरको अनुदान अन्यत्र खर्च, कुन विद्यालयलाई कति अनुदान ? हेर्नुहोस्

२०८० जेठ ९ मंगलबार ०८:०९:०० मा प्रकाशित


गैँडाकोट । फर्निचरमा एउटा तीन खण्डको बुक ¥याकलाई २ हजारदेखि ३ हजारसम्ममा पाइन्छ । ३० हजार रुपैँयामा करिब १० वटासम्म बुक ¥याक किन्न सकिन्छ । जुन १० वटा कक्षा कोठालाई प्रशस्त पुग्छ । तर गैँडाकोटका सामुदायिक विद्यालयले सरकारबाट लिने अनुदानको पैसा अरुनै शीर्षकमा खर्च गर्छन ।

 

प्रत्येक वर्ष सामुदायिक विद्यालयले बुझ्ने बुक कर्नरको अनुदानको उचित व्यवस्थापन हुन सकेको छैन । विद्यार्थीको सिकाइ क्षमता बढाउन राज्यबाट आउने अनुदानहरु सामुदायिक विद्यालयले विजुली, पानी, अन्य शीर्षकमा खर्च गर्ने स्वीकार समेत गर्छन् । तर अनुगमन निकायलाई कुनै वास्ता छैन । 

सरकारले कल्पना गरेको बुक ¥याक हेर्नुहोस् त यस्तो हो । 

के तपाईंका छोराछोरी पढ्ने सामुदायिक विद्यालयका कक्षा कोठामा यस्तो किताबहरु भएको ¥याक छन् त ? प्रत्येक वर्ष यस्तो र्याक बनाउन पैसा अनुदान जान्छ विद्यालयलाई । अब विद्यालय पुग्दा सोध्ने गर्नुहोस् त ।


 सरकारले प्रत्येक सामुदायिक विद्यालयका प्रत्येक कक्षा कोठामा बुक कर्नर अर्थात किताब कुनो राख्न बजेट छुट्याउँदै आएको छ । विद्यार्थीको पठन क्षमता बढाएर उनीहरुलाई सिर्जनशील र रचनात्मक बनाउने उद्देश्यका साथ यस्तो व्यवस्था गरिएको हो । तर नवलपुरका धेरै जसो सामुदायिक विद्यालयका कक्षाकोठामा किताब कुना छैन । यति मात्र होइन कक्षा कोठामा बुक कर्नर हुन्छ भन्ने विषयमा विद्यार्थीनै अनविज्ञ छन् । लाखौँ रकम भने खर्च भइरहेको छ । 


गैँडाकोट ११ मा रहेको कुमारवर्ती आधारभूत विद्यालयमा अध्ययनरत राजन शाही कक्षा ७ का विद्यार्थी हुन् । उनलाई विद्यालयको कक्षा कोठामा बुक कर्नर हुन्छ भन्ने थाहा छैन । कारण उनको विद्यालयको कुनै पनि कक्षामा बुक कर्नर अर्थात पाठ्य सामाग्री राख्ने ¥याक छैन । उनी भन्छन्, “बुर्क कर्नरको बारेमा अहिलेसम्म सुनेको थिईन । हजुरले भनेर थाहा भयो । कक्षा कोठामा बुक कर्नर भए त कस्तो राम्रो हुन्थ्यो । हामीले नयाँ–नयाँ कुरा सिक्न पनि पाउथ्यौँ ।”


कुमारवर्ती आधारभूत विद्यालयमामा हाल १६५ जना विद्यार्थी अध्ययनरत छन् । अघिल्लो आर्थिक वर्षमा यस विद्यालयमा १२६ विद्यार्थीका लागि २० हजार ८ सय रुपैयाँ बुक कर्नरको लागि अनुदान प्राप्त भएको थियो । बुक कर्नरमा आउने पैसा विद्यालयले प्रारम्भिक बालविकास कक्षाका लागि र अन्य भौतिक संरचना बनाउने काममा खर्च गर्ने गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द आचार्यले बताए । उनले बुक कर्नरको लागि जम्मा २ हजार ५ सय मात्र आउने त्यो पनि अन्तै खर्च हुने गरेको सुनाए । जबकी अघिल्लो वर्ष बुक कर्नरका लागि विद्यालयमा २० हजार ८ सय रकम पुगेको थियो । 


हरेक कक्षा कोठाको कुनामा विद्यार्थीको पहुँच पुग्ने ठाउँमा दराज राख्ने, दराजमा कम्तिमा ५० प्रकारका बाल कविता, कथा, चित्रकला, वर्णमाला लगायतका पुस्तकहरु राख्ने परिकल्पना सरकारको बुक कर्नर अर्थात किताब कुना कार्यक्रम हो । किताब कुनाको बारेमा थाहा भएका विद्यालयले गम्भीर रूपमा लिएका छैनन् । गैँडाकोट १२ मा रहेको जनता मा.वि.मा बुक कर्नरका लागि चालु आर्थिक वर्षमा मात्रै १ लाख ७३ हजार अनुदान गएको छ । तर विद्यालयका कक्षा कोठमा बुक कर्नर छैन्न । विद्यालयका प्रधानाध्यापक पदमबहादुर खड्काले बुक कर्नरमा आउने पैसा बिजुलीको बिल तिर्न, पङ्खा मर्मत, फर्निचर मर्मत लगायतमा खर्च हुने गरेको सुनाए । उनले भने, “अन्य संरचना बनाउन सरकारले दिने रकम नै कम छ । त्यसकै लागि खर्च हुन्छ । तर हामीले पाँचवटा कक्षामा बुक कर्नर राखेका छौँ । अन्य कोठामा बढाउने योजना छ ।” 


प्रधानाध्यापक खड्काले बुक कर्नर छ भनेको दुईवटा कक्षामा पुग्दा जहाँ बुक कर्नर थियो तर बुक थिएन । त्यहाँ शिक्षकको झोला, सेनेटरी प्याड र बालबालीकाकोे टिफिन राख्ने गरेको पाइयो । शिक्षक अम्बिका वाग्लेले बुक कर्नरमा आफ्नो झोला र बच्चाको टिफिन राख्ने गरेको बताइन् ।  


कक्षा १ भन्दा माथी पढ्ने साढे १२ सयभन्दा धेरै विद्यार्थीले किताब कुनाको सुबिधा लिन पाउँदैनन् । यी त प्रतिनिधि घटना मात्रै हुन् । अन्य विद्यालयको पारा पनि उस्तै छन् । 


सरकारले बाल विकास केन्द्रका प्रति विद्यार्थीका लागि ५ सय, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई १ सय ५०, कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाइ २ सय र ११, १२ कक्षाका विद्यार्थीको लागि २ सय ५० का दरले रकम पठाउँछ । तर विद्यालयले यो पैसा अन्तै खर्च गर्दै आएका छन् ।

सरकारले बाल विकास केन्द्रका प्रति विद्यार्थीका लागि ५ सय, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई १ सय ५०, कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाइ २ सय र ११, १२ कक्षाका विद्यार्थीको लागि २ सय ५० का दरले रकम पठाउँछ । तर विद्यालयले यो पैसा अन्तै खर्च गर्दै आएका छन् । विद्यालयका तमाम समस्याका कारण शिक्षा शाखा चुप लागेको शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले बताए । उनले भने, “विद्यालयलाई हामीले बिजुलीको, पानीको पैसा दिन सक्दैनौ । उनिहरुलाई भौतिक संरचना बनाउन आवश्यक पर्ने सबै खर्च तिर्न नसके पछि मिलाउनु भन्नु पर्ने अवस्था छ ।” उनले थपे, “बुक कर्नरमा राख्ने पुस्तक लाइब्रेरीमा राखेर पढ्ने वातावरण बनाइएको छ ।” 


गैँडाकोट नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा बुक कर्नरको लागि चालु आर्थिक वर्षमा १८ लाख ९ हजार ५ सय अनुदान पुगेको छ । विद्यालयमा जाने अनुदानको रकम शिर्षकमा रहेर खर्च नगर्नु, पालिकाले पनि आवश्यकता बोध नगर्नुले विद्यार्थीको सिकाइ उपलब्धीमा असर पुगेको छ । शिक्षकको तलब काटेर बिजुली तिर्ने कुरा, प्रधानाध्यापकको तलब काटेर स्कूल चलाउने कुरा मान्य हुँदैनथ्यो होला, आन्दोलन हुन्थ्यो होला । तर विद्यार्थीका सिकाइ उपलब्धी बढाउने शीर्षक काटेर जे गरे पनि भयो । जसो गरेपनि भयो । विद्यार्थीलाई पत्तो पनि हुँदैन । आवाज पनि उठ्दैन । शैक्षिक उपलब्धी खोज्ने अनि सिकाई उपलब्धीका लागि अनुदान अरु नै शिर्षकमा खर्च गर्ने । मोही माग्ने ढुङ्ग्रो लुकाउने प्रवृत्ति अन्त्य गर्नुपर्दैन ।