लक्ष्मी पूजामा भरतपुरको वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

२०८२ कार्तिक १ शनिबार १३:५१:०० मा प्रकाशित

चितवन । भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ । लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो । विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

लक्ष्मी पूजा, गाई पूजा र गोवद्र्धन पुजाको दिन क्रमशः कार्तिक ३, ४ र ५ गते सामूहिक पुजन हुनेछ । वागीश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । तीन दिनसम्म चल्ने गौ पुजाको उद्घाटन नेपाल सन्त समाजका महासचिव एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापवक डा.गुरु प्रसाद सुवेदीले गर्नुहुनेछ । सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिनुभयो ।  पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ ।