ब्लड क्यान्सर पिडित शम्भुको उपचारमा सहयोग गर्न अपिल

२०७९ चैत ५ आइतबार १०:३५:०० मा प्रकाशित


गैँडाकोट 
गैँडाकोट ५ का कृष्ण कुँवर शम्भुलाई ब्लड क्यान्सर देखिएपछि उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् । ३२ वर्षिय कुँवरको बोनम्यारो प्रत्यारोपणका लागि ६० लाख बढी खर्च लाग्ने र आर्थिक अवस्था कमजोर रहेका कारण परिवारजनले सहयोगको याचना गरेका हुन् । ब्लड क्यान्सर पिडित कुँवरका दाजु सन्तोष कुवँरले चिकित्सकको सल्लाह बमोजिम किमियोथेरापी गरेर ८ महिनापछि बोनम्यारो प्रत्यारोपण गर्न सकिने भएकाले आर्थिक संकलनका लागि अपिल गर्दै आएको बताउनुभयो । 


करिब १ महिना पहिला शरीर दुख्ने, शरीरमा गाँठागुठी आउने जस्ता शारीरिक समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि पुगेका कुँवरलाई क्यान्सर अस्पताल रिफर गरिएकोमा त्यहाँ ब्लड क्यान्सर पुष्टी भएको थियो । अहिले परिवारले थप उपचारका लागि शम्भुलाई भारतको राजीव गान्धी क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर दिल्ली लगेका छन् । २० वर्ष पहिले आमा बुवा दुबैलाई गुमाएका शम्भु बैदेशिक रोजगारीको सिलसिलामा कतारबाट १ महिना अघिमात्रै स्वदेश फकिएका हुन् ।

उनलाई आर्थिक सहयोग गर्न चाहनेले एभरेष्ट बैङ्क चितवन शाखाको ०२५००५०१२०८२२६ खाता नम्बरमा रकम जम्मा गर्न सकिने सन्तोष कुँवरले बताउनुभयो । 


यसैबिच गैँडाकोट ५ को बैकुण्ठमार्ग टोल विकास संस्था र सुनौलो महिला समूह बैकुण्ठमार्गले स्थानीयसँग संकलन गरेको २ लाख १९ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । उपचारमा केही भएपनि सहयोग होस् भन्ने हेतुले आर्थिक संकलन गरी हस्तान्तरण गरेको बैकुण्ठमार्ग टोलविकास संस्थाका अध्यक्ष भिमबहादुर खत्रीले बताउनुभयो । आवश्यक पर्दा एक अर्काले सक्दो सहयोग गर्नुपर्ने मानवीय धर्म भएकाले सबैलाई सहयोग गर्न सुनौलो महिला समूह बैकुण्ठमार्गका अध्यक्ष मीना न्यौपानेले आग्रह गर्नुभयो ।

 

आर्थिक सहयोग संकलन अभियान नै सञ्चालन गरिएको बैकुण्ठमार्ग टोलविकास संस्थाका सचिव मिरा केसीले बताउनुभयो । सुनौलो महिला समूह बैकुण्ठमार्गका सचिव शोभा पौडेलले सानैमा आमाबुवा गुमाएका शम्भुको उपचारमा आर्थिक सहयोग गरी जीवन बचाउन अपिल गर्नुभएको छ ।