मध्यावधिसम्म गैँडाकोटको पूँजीगत खर्च मात्र १९.५७ प्रतिशत 

२०७९ माघ ११ बुधबार १७:४५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मध्यावधि सम्म मात्र ३०.१३ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनाको अवधि सम्म ३२ करोड १९ लाख २२ हजार २ सय ८२ रुपैयाँ खर्च भएको हो । 

आर्थिक वर्षको आधा समय व्यतित गरेको नगरपालिकाले भने पूँजीगततर्फ एक चौथाई पनि रकम खर्च गर्न सकेको छैन । 

नगरपालिकाले साउनदेखी पौष मसान्तसम्म गरेको खर्च मध्ये चालुतर्फ ३९.०३ प्रतिशत अर्थात २२ करोड ६२ लाख २ हजार ९ सय ८६ रुपैयाँ भएको छ । त्यस्तै पूँजीगत खर्च मात्र १९.५७ प्रतिशत रहेको छ । पूँजीगततर्फ ९ करोड ५७ लाख १९ हजार २ सय ९६ रुपैयाँ खर्च भएको नगरपालिकाले स्वतः प्रकाशित सूचनामा जनाईएको छ । 

गैँडाकोट नगरपालिकाको १ अर्ब ६ करोड ८४ लाख १२ हजार प्रस्तावित आय रहेकोमा हालसम्म ५८.२५ प्रतिशत अर्थात ६२ करोड २३ लाख ८३ हजार ६ सय ८९ रुपैयाँ आम्दानी रहेको छ ।