आज माघे सङ्क्रान्ति उत्सव 

२०७९ माघ १ आइतबार ०७:२९:०० मा प्रकाशित

चितवन । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेलामा नुहाउनेको बिहानैदेखी भिंड लागिरहेको छ । आज राति भक्तजन जाग्राम समेत बसेका थिए । पवित्र तीर्थस्थल देवघाटको बेनीमा हिजो बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा शनिबार र आइतबार नारायणगढ मुग्लिन सडकखण्ड नरोकिएको जानकारी दिनुभयो । 

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ । सो अवसरमा विजय एफएम १०१.६ देवघाटबाट प्रत्यक्ष प्रसारण गरेको थियो । 

आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।

सनातन सस्ंकारमा आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो, घ्यू, चाकु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु तरुल, सखरखण्ड, पिँडालु खिचडी खाने चलन छ ।

बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा, ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । 

मधेसमा भने मैथिली र थारु समुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् ।

थारु समुदायमा आजको दिन नयाँ वर्षका रूपमा मनाइन्छ ।

दास प्रथा अन्त्य भएको दिनको रुपमा कुमाल समुदायले माघे संक्रान्ति मनाउँछन् ।

आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरु भएको मानिन्छ ।

नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले माघे सङ्क्रान्ति मनाइन्छ ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ ।