प्रधानमन्त्रीसंग कवि गोविन्दराज विनोदीका अन्तर्मनका जिज्ञासा

कवि गोविन्दराज विनोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारी विश्वासको मत प्राप्त गर्दै गर्दाको क्षणमा रचना गर्नुभएको कविता आफ्नो फेसबुक पेजमा शेयर गर्नुभएको छ ।
अन्तर्मनका जिज्ञासा
(प्र म प्रचण्डले राजनीतिक दलहरूबाट भारी विश्वासको मत प्राप्त गर्दाको पल सम्झेर )
के भ्रष्टका जड समस्त उखेलिएलान् ?
के न्यायका सदन मन्दिरतुल्य होलान्?
होला प्रशासन र शुद्ध हटी विभेद ?
उठ्ला र शैलसरि चेतनमा विवेक ?
के घूसरूप कुहिरो अब फाट्नसक्ला ?
के प्रेमले विकृति-बन्धन काट्नसक्ला ?
के बन्धुता अब चुलीतिर चढ्नसक्ला ?
के सभ्यता अबअघिल्तिर बढ्नसक्ला ?
के स्वार्थको अशुभ चिन्तन चूर्ण होला ?
के राष्ट्र-उन्नति महाव्रत पूर्ण होला ?
संस्कारका अघि "सु" के अब जोडिएला ?
के खास राष्ट्रहितमा पथ मोडिएला ?
के कर्ममा हृदयदीप धपक्क बल्लान् ?
के स्वावलम्बन सबै मनभित्र फल्लान् ?
के दुष्टता कलह विग्रह नष्ट होलान् ?
के दीनका सकल कष्ट विनष्ट होलान् ?
आफ्ना भुलेर अपवित्र अनेक कर्म
सम्झी समस्त जनका कटु दुःख मर्म
मस्तिष्कमा अमल नैतिकता जगाई
सोच्लान् र राष्ट्र-अगुवा सबको भलाइ ?
निष्पक्ष नैतिक निरञ्जन निर्विकार
कर्तव्यका प्रति भएर इमानदार
के नीति-वाहकहरू अब सुध्रिएलान् ?
यो मृत्तिकाभरि सुशान्ति सुवास देलान् ?
ईर्ष्या घमन्ड मनबाट पखालिएलान् ?
के एक भै प्रगतिका पद चालिएलान् ?
के देशले म त समृद्ध छु भन्नसक्ला ?
के राजनीति अब निर्मल बन्न सक्ला ?