आज यमपञ्चकको दोस्रोे दिन, कुकुर तिहार, नरक चर्तुदशी र लक्ष्मी पुजा गरिदैँ

२०७९ कार्तिक ७ सोमबार ०६:१५:०० मा प्रकाशित

नवलपुर
आज यमपञ्चकको दोस्रोे दिन, कुकुर तिहार, नरक चर्तुदशी र लक्ष्मी पुजा गरिदैँ छ । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई आज पूजा गरेर मीठो खानेकुरा दिइन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरे यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।
यमपञ्चकको तेस्रोे दिन मनाइने कार्तिक कृष्ण औँसीको साँझ, लक्ष्मी पुजा पनि आज नै रहेको छ । । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। 
नरक चर्तुदशीले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ भन्ने विश्वास गरिएको छ । यस दिन नर्के नुहाउने चलन छ, तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, नर्के नुहाएपछि तिलका झिँगडाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काई बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ति बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
तिथिको घटबढले आज नै कुकुर पुजा र लक्ष्मी पुजा रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।  साँझ लक्ष्मीपूजा गर्नुअघि घर सफासुग्घर र लिपपोत गर्नुपर्ने मान्यता छ। सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वासका आधारमा आज बिहानै घर सफासुग्घर गर्ने चलन छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।
सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ। हाल दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन  बढ्न थालेको छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ।  लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
आज साँझ महिलाहरुले समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले भलो होस भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको विश्वास छ। भलो होस भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको  भनाई छ ।