गोर्खा वेलफेयर ट्रष्टले गैँडाकोट ६ मा तीन कोठे विद्यालय भवन निर्माण गर्ने 

२०७९ असोज १० सोमबार १३:१२:०० मा प्रकाशित

गैँडाकोट । गोर्खा वेलफेयर ट्रष्ट नेपालले गैँडाकोट ६ स्थित सृजनशिल आधारभुत विद्यालयमा विद्यालय भवन निर्माण गरिदिने भएको छ । 

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षाकोठाको अभाव देखेपछि तीन कोठे भवन निर्माण गर्न लागिएको गोर्खा वेलफेयर ट्रष्ट नेपालका डेपुटी फिल्ड निर्देशक यमबहादुर रानाले जानकारी दिनुभयो । उहाँले २०८० को जेठसम्ममा निर्माण कार्य सक्ने योजना रहेको बताउनुभयो । गोर्खा वेलफेयर ट्रष्टका यरिया वेलफेयर अधिकृत पूर्ण गुरुङले भवन निर्माणमा १६ देखी १७ लाखको अनुमान गरिएको बताउनुभयो । ईन्जिनियर सुभाष गुरुङले विद्यार्थी सङ्ख्याको आधारमा आवश्यकता अनुसारको भुकम्प प्रतिरोधात्मक ट्रष्ट सहितको भवन बन्ने जानकारी दिनुभयो । 

गैँडाकोट ६ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभाष चापागाईंले विद्यालयमा गरिब विपन्न परिवारका बालबालिका अध्ययन गर्दै आएको बताउँदै सहयोगि संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । सोमबार निरीक्षणका क्रममा संयोजन गर्नुभएका केयरसिं रानाले विद्यार्थीलाई भवनकै कारण अध्ययनमा असहज भएका कारण भवनका लागि आफुले निरन्तर पहल गरेको बताउनुभयो । नगर शिक्षा समितिका पूर्व सदस्य कमल सुवेदीले भौतिक संरचनाले अध्यापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा हाल ५२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक शोभा सापकोटा पौडेलले जानकारी दिनुभयो ।