राष्ट्रपति, ओलीको दोस्रो संस्करण भएको दाहालको आरोप

२०७९ असोज ८ शनिबार १७:२२:०० मा प्रकाशित

चितवन । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायण प्रसाद दाहालले वर्तमान असहज परिस्थितिको उपज राष्ट्रपति विद्यादेबी भण्डारी भएको आरोप लगाउनुभएको छ ।

पार्टी निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी संगठन भरतपुर महानगर समितिले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपतिले संविधानको गम्भीर उलंघन गरेको आरोप मात्र लगाएनन् केपी ओलीको दोस्रो संस्करण भएको समेत आरोप लगाउनुभयो । नागरिकता ऐन २०६३ को संसोधनको लागि बनेको विधेयकमा भएका केही विषयमा आफुहरुको समेत सहमति नभएको भनाई राख्दै सहमत हुनु र नहुनु भन्दा पनि दुबै संसदले पारित गरेर पठाएको विधेयक रोक्नुगैर संवैधानिक कार्य भएको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले बौद्धिक समूदाय र बुद्धिजीवीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

नेपाल बुद्धिजीवी संगठन भरतपुर महानगर समितिले वर्तमान परिवेश र बौद्धिक समूदायले निभाउनुपर्ने भूमिकाको विषयमा केन्द्रीत भएर बौद्धिक दर्पण नामको बुलेटिन प्रकाशित गरेको हो । कार्यक्रम महानगर समितिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।