नवलपुरका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

२०७९ असोज ७ शुक्रबार १७:४१:०० मा प्रकाशित


नवलपुर । विजया दशमी, तिहार, छठ लगायतका पर्व लक्षित गरि नवलपुरका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको कावासोती, गैंडाकोट, डण्डा र दुम्किबास गरि चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिनुभयो ।चाडपर्वको समयमा यात्रुहरूको चाँप बढ्ने हुँदा यो समयमा यात्रुहरूलाई पर्ने समस्यामा तत्काल सहायता गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

चाड पर्वको समयमा यात्रुलाई बसमा यात्रा गर्दा हुने बिभिन्न समस्या समाधानका साथै यात्रु बाहक बसको नियमनका लागि यात्रु सहायता कक्ष प्रभावकारी हुने विश्वास लिइएको सूचना अधिकारी पुरीले बताउनुभयो ।सहायता कक्षमा खटिएको टोलीले यात्रुबाट बढी भाडा लिएर ठग्ने, राम्रो सिट मिलाइदिन्छु भन्दै यात्रुलाई जथाभावी राख्ने जस्ता कार्यको नियन्त्रण गर्नेछन् ।

चाडपर्वको समयमा यात्रुहरूलाई ठग्ने देखी दुर्व्यवहार गर्ने गरको गुनासो आउने हुँदा यसको नियन्त्रण तथा नियमनका लागि यात्रु साहयता कक्ष सहयोगी बन्ने उहाँले बताउनुभयो । यात्रुहरूको बढी चाप हुने चार स्थानको छनौट गरि यात्रु सहायता कक्ष स्थापना गरिएको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो ।

सहायता कक्षबाट यात्रु बसको नियमित रुपमा अनुगमन गरिने र भाडादर धेरै लिने, सिट भन्दा धेरै यात्रु राख्ने जस्ता नियम विपरितका कार्य गरेमा त्यस्ता सवारीलाई तत्काल कारबाही गरिने उहाँले बताउनुभयो । यात्रुहरू बढी आवत जावत गर्ने समय बिहान ६ बजे देखी साँझ ६ यात्रु सहायता कक्षबाट यात्रुहरूलाई सेवा प्रदान गरिने छ । हाल जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको भएपनि जिल्लाको दाउन्ने क्षेत्रमा समेत सहायता कक्ष स्थापनाको योजना रहेको सूचना अधिकारी पुरीले बताउनुभयो ।