गैँडाकोट क्षेत्रीय रंगशालामा भेट्रान फुटबल प्रतियोगिता असोज १० गतेबाट सुरु हुँदै

२०७९ असोज ६ बिहीबार १८:४९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट खेलकुद समितिको आयोजनामा असोज दश गतेबाट गैँडाकोट नगर वडा स्तरीय दशैं कप भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदैछ । गैँडाकोट ३,४ र ८ मा पर्ने गैँडाकोट क्षेत्रीय रंगशालामा हुने फुटबल प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरु र ९ जना खेल्ने गरी बढिमा १४ जना खेलाडी साथै १ जना टिम म्यानेजर र टिम कोच सहित जम्मा १६ जना हुनुपर्ने गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार १५ रुपैँया, दोस्रो हुनेलाई २५ हजार १५ रुपैँया साथै ट्रफी र प्रमाणपत्र दिइने उहाँले जानकारी दिनुभयो । टिम दर्ता गर्नका लागि १० हजार १५ रुपैँया लाग्ने अध्यक्ष कार्कीले बताउनुभयो ।    
फुटबल प्रतियोगिताका लागि असोज ८ गते भित्रमा खेलाडीको नामावली सहित टिम दर्ता गरिसक्नुपर्ने साथै खेल सुरु हुनुभन्दा आधाघण्टा अगाडी खेलाडीको नाम सहित नागरिकता÷परिचय पत्रको फोटोकपी आयोजकलाई बुझाउनुपर्ने छ । फुटबल प्रतियोगितामा खेल्ने खेलाडीहरुले नम्बर र बार्ड नम्बर स्पष्ट देखिने गरि जर्सिमा उपस्थित हुनुपर्ने र टिममा कम्तिमा १ जना जनप्रतिनिधिको सहभागिता रहनुपर्ने छ । 
गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले भेट्रान फुटबल प्रतियोगिता देख्दा युवा पुस्ताहरुमा खेलको राम्रो प्रभाव पर्ने साथै समयसमयमा खेलीने खेलले स्वास्थ्य राम्रो हुने बताउनुभयो ।