गुणस्तरीय शिक्षा हुँदाहुँदै पनि उच्च तहमा विद्यार्थी पाउनै छाडे 

२०७९ असोज ३ सोमबार १८:४८:०० मा प्रकाशित

भरतपुर । उच्च तहमा विद्यार्थी पाउन मुस्किल हुने गरेको सराकारवालाहरुले बताएका छन् । एशोशियसन अफ इन्जिनियरिङ कलेज नेपालद्वारा आइतबार भरतपुरमा आयोजित नेपालमा उच्च शिक्षा, गुणस्तरीय व्यवस्थापन र कार्यान्वयन विषयक गोष्ठीका वक्ताहरुले उच्च तहमा अध्ययन गर्ने विद्यार्थीहरु विदेशिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा. प्रेम नारायण अर्यालले यहाँका शैक्षिक संस्था अब्बल हुँदाहुँदै पनि विद्यार्थी विदेशिनु दुख्द रहेको बताए । अहिले पनि ३१ प्रतिशत विद्यार्थीको कोटा नभरिएको बताउँदै विद्यार्थीले ६७ अर्ब रुपैयाँ रेमिट्यान्स विदेश लैजाने गरेको बताए । यहाँ सञ्चालित शैक्षिक नीति, विषयवस्तु, शिक्षा प्रभावकारी रहेको दावी गरे । तर अनुसन्धानमा आधारित अन्तर्राष्ट्रिय तहको अनलाईन शिक्षा आजको आवश्यकता रहेको बताए । 

पोखरा विश्वविद्यालयका रजिष्टार प्रो.डा. दिपकबहादुर भण्डारीले लक्षित समूहलाई यहाँको शिक्षा पद्धती र अवस्थाबारे जानकारी गराउन सकेमात्र विदेश पलायन रोक्न सकिने बताए । पोखरा विश्वविद्यालयका साईन्स एण्ड टेक्नोलोजी संकायका डिन प्रो. राजेशकुमार ठगुराठीले विश्व परिवेशसँग सुहाउँदो पाठ्यक्रम ल्याउन सकेमात्र गुणस्तरीयता कायम गर्न सकिने बताए । पोखरा विश्वविद्यालयका ईन्जिनियरिङ संकायका डिन प्रो. देविप्रसाद भट्टराईले विश्वमा ५५ विधामा पढाइ हुने गरेकोमा नेपालमा मात्र १७ विधामा मात्रै ईन्जिनियरिङ पढाइ हुने गरेकोले अझै विषय विविधतातर्फ जानुपर्ने बताए । ४० वटा सम्बन्धन प्राप्त मध्ये २१ वटा आंगिक कलेजले मात्र ईन्निजियरिङ पढाउने र १२ वटा विश्वविद्यालय मध्ये ७ वटाले मात्र ईन्जिनियरिङ पढाउने गरेको उनले बताए । 

हिसानका अध्यक्ष रमेश सिलवालले १४ सय ७ वटा कलेज सञ्चालनमा रहेको बताउँदै सबै प्रदेश र हरेक पालिकामा २ भन्दा बढी कलेज हुनु सुखद् रहेको बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. चुननारायण श्रेष्ठले चितवनको सामाजिक, आर्थिक विकासलाई मजबुत गराउन शैक्षिक संस्थाको योगदान महत्त्वपूर्ण रहेको बताए । प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले नेपालको शिक्षालाई अघि बढाउन नीजि विद्यालयको ठूलो योगदान रहेको बताए । तर सरकारले निजि विद्यालयले उपेक्षा गरेको उनको तर्क थियो । युनाइटेड टेक्निकल कलेजका प्रो.डा. केशवदत्त अवस्थीले शिक्षामा गुणस्तरीयता कायम गर्न नसकेका कारण समस्या बढ्दै गएको र पछि परेको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले नेपालको उच्च शिक्षा गुणस्तरिय रहेको दावि गरेका थिए । उनीहरुले नेपालमा उच्च शिक्षा गुणस्तरीय रहेको भन्दै विदेश जान नपर्ने दावी गरे । 

नेपालमा ईन्जिनियरिङ शिक्षा नै किन ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै एशोशियसन अफ इन्जिनियरिङ कलेजका सल्लाहकार संयोजक प्रो.ई. बसन्त मरहठ्ठाले नेपालमा गुणस्तरीय शिक्षा, शैक्षिक पाठ्यक्रम र प्रोफेसरहरु अन्तर्राष्ट्रिय स्तरको रहेको बताए । तर, नेपालबाट वार्षिक ६५ हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षाको लागि विदेश जाने गरेको उनको भनाई थियो । नेपालमा दश हजार पाँच सय ५७ कोटा रहेपनि २५ प्रतिशत कोटा खाली हुने गरेको उनले बताए । विदेशीले सञ्चालन गरेको विश्वविद्यालयका कारण नेपालीले सञ्चालन गरेको विश्वविद्यालयमा विद्यार्थी आक्रषर्ण बढ्न नसकेको उनको भनाई थियो । उनले नेपालमा शैक्षिक शुल्क कम भएपनि विद्यार्थीहरु विदेशीने गरेकोमा दुखेसो पोखे । शिक्षामा नेपाली पैसा खरबौँ रुपैयाँ बाहिरिने गरेको उनले बताए । 

कृषिका पूर्व डिन प्रो. डा. केशवराज अधिकारीले निजि क्षेत्रको अवस्था र शैक्षिक विकासबारे कार्यपत्र प्रस्तुत गर्दै नेपालमा दक्ष जनशक्तिको कमी रहेको बताएका छन् । शैक्षिक संस्थाले जनशक्ति उत्पादन गरेपनि नेपालमा जनशक्ति अभाव हुनुका कारण खोज्नुपर्ने धारणा राखे । नेपालमा कृषिमा १ करोड ३ लाख, उद्योगमा ३० लाख, सेवामा ४५ लाख जनशक्ति माग रहेकोमा कृषिमा ८३, लाख, उद्योगमा ८४ हजार र सेवा क्षेत्रमा साढे ९ लाख मात्रै जनशक्ति सप्लाई रहेको बताए । नेपालको शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन हुन नसक्दा विद्यार्थीहरुको आकषर्ण कम भएको उनको बुझाई छ । 

नेपालमा व्यवस्थापन संकायमा भने विद्यार्थीको आकषर्ण बढ्दै गएको छ । अक्सफोर्डका अध्यक्ष प्रो.डा. वसन्तप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय बजारमा नेपाल व्यवस्थापनमा अब्बल रहेपनि युवाहरु विदेशिनु दुखद् रहेको बताए । नेपालमा व्यवस्थापन शिक्षाबारे कार्यपत्र प्रस्तुत गर्दै प्रो.डा. सन्जिव मिश्रले वार्षिक तीन लाख ३५ हजार विद्यार्थीले व्यवस्थापन संकाय पढ्ने गरेको बताए । नेपालमा सात सय ८५ क्याम्पसमा व्यवस्थापन संकायको पढाई हुने गरेपनि स्वदेशमा सीप भएका व्यक्तिहरु पाउन कठिन भएको उनको भनाई छ । 

कार्यक्रमका अध्यक्ष एशोशियसन अफ इन्जिनियरिङ कलेज नेपालका अध्यक्ष इन्जिनियर हिरेन्द्रमान प्रधानले यहाँ गुणस्तरीय शिक्षा नभएको भनेर विद्यार्थी बाहिर जानेभन्दा पनि अभिभावकको करले जाने गरेको तर्क गरे । किन विद्यार्थी बाहिर गइरहेका छन् ? भन्ने विषयमा खोजी गर्नुपर्ने उनको भनाई छ । नीतिगत तहमा सुधार गर्न उनले नेपाल सरकारको ध्यानाकर्षण गराए । 

कार्यक्रममा स्वागत गर्दै एशोशियसन अफ इन्जिनियरिङ कलेज नेपालका उपाध्यक्ष एवं अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टकाका प्रिन्सिपल प्रो. ई. हरि भण्डारीले यहाँका ईन्जिनियरिङ र म्यानेजमेन्ट पढाउने शैक्षिक संस्था अब्बल रहेको बताएका थिए । 

एशोशियसन अफ इन्जिनियरिङ कलेज नेपालका सचिव नवराज पोख्रेलले कार्यक्रमको सहिजकरण गरेका थिए । हिसान, ओपन, बोस्टन कलेज, नेपाल पोलिटेक्निक, नागरिक कलेज, अक्सफोर्ड कलेज, प्रेसिडेन्सी कलेज, युनाईटेड टेक्निकल र भ्याली स्टेट कलेजको सहयोगमा कार्यक्रम भएको थियो ।