नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोटले आजदेखि १० दिने स्वास्थ्य सचेतना गर्ने 

२०७९ असोज ३ सोमबार ०७:२४:०० मा प्रकाशित

गैँडाकोट । नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइले आजदेखि १० दिने स्वास्थ्य सचेतना गर्ने भएको छ । गैँडाकोटमा पत्रकार सम्मेलन गरि देशका ७५ जिल्लामा फैलिएको डेङ्गु रोग बारे समुदाय स्तरमा सचेतना दिन कार्यक्रम गर्न लागिएको जानकारी गराएको छ । गैँडाकोट १ देखि १८ सम्मका वडामा बिभिन्न चोक र स्थानमा माइकिङ गरेर डेङ्गु रोग बारे समुदाय स्तरमा सचेतना दिइने र विद्यालय स्तरमा पनि सचेतना कार्यक्रम गरिने नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले डेङ्गु रोगबाट बच्न लामखुट्टेको टोकाइवाट बच्नुपर्ने बताउनुभयो । साथै माइकिङ र १० हजार पर्चा पप्लेट बनाएको र जनसमुदायमा वितरण गरिने उहाँको भनाई छ । 
नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइका सचिव खुमप्रसाद पौडेलले स्वास्थ्यको ख्याल गर्न र लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो । घर वरपर सरसफाई गर्न र खाल्टाखुल्टीमा पानी जम्न दिन नहुने भन्दै लक्षण देखिए उपचार गर्न सुझाव दिनुभयो । डेङगु संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्नु, थकान महसुस हुने, वान्ता हुनु लगायतका लक्षण देखापर्छ । डेङगुबाट बच्न लामखुट्टेको बच्नु नै उत्तम उपाए भएको कोषाध्यक्ष विनोद पौडेलको भनाई छ । उहाँले लामो बाहुला भएको कपडा लगाउन, झुल लगाएर सुत्न सुझाव दिनुभएको छ । 
सो कार्यक्रममा सदस्यहरु भागीरथी पोखरेल आचार्य, गोपाल शाहि लगायतको उपस्थिति रहेको थियो । नेपाल स्वास्थ्य व्यवसायी गैँडाकोट नगर इकाइ समितिले कोभिडको समयमा सचेतना र कोभिडको बारेमा जनसमुदायमा फैलिएको अफवाह हटाई सचेतना दिएको थियो । जुन प्रभावकारी समेत बनेको थियो । बिभिन्न अवसरमा स्वास्थ्य सचेतना, निःशुल्क स्वास्थ्य शिवीर लगायतका काम गर्ने गरेको छ ।