आइतबार पनि वर्षा हुने (नारायणी नदीको अवस्था सहित)

२०७९ असोज १ शनिबार १५:३१:०० मा प्रकाशित

गैँडाकोट । देशका धेरै स्थानमा अहिले पनि हल्का देखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भईरहेको छ । डडेल्धुरा, बर्दिया, दाङ र झापा अत्यधिक वर्षा भइरहेकोले यी स्थानमा खतराको चेतावनी दिईएको छ । त्यस्तै बर्दियाको बबइ र बाँकेको राप्ती नदीमा बाढीको खतराको चेतावनी दिइएको छ । 

नारायणी नदीमा पानीका बहाव बढेपनि अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको नारायणी वेशिन फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका जल विज्ञान सहायक विशाल अधिकारीले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । अहिले देवघाटमा ४.८८ मिटर र नारायणी पुलमा ९.०९ मिटर मापन गरिएको छ । देवघाटमा ७.३ मिटर र नारायणी पुलमा ११ मिटरलाई चेतावनीको विन्दु मानिएको छ । 

राती पनि देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आईतबार पनि प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।