रेडियोमा मेरो ८ वर्षे अनुभव : विपद् र विकटका लागि रेडियो   

२०७९ भदौ ५ आइतबार ११:१७:०० मा प्रकाशित


सामुदायिक रेडियो विजय एफएम १९ औँ वर्षमा प्रवेश गर्नु मेरो व्यक्तिगत खुसी मात्र होइन, यो समुदायको गर्वको विषय हो । सूचना सबैभन्दा ठूलो सम्पत्ती हो । सूचना ज्ञान हो, सूचना प्रेरणा हो, सूचना शक्ति हो र सूचना मार्गदर्शन हो । समाजलाई सकरात्मक परिवर्तनको धारमा अघि बढाउने काम पनि सूचनाले गर्दछ । यहि यथार्थ सत्यलाई बुझेर १९ वर्ष अघि गैँडाकोटका युवाहरुले गरेको परिकल्पना मिडियाको क्षेत्रमा सफल पाठशाला बनेको छ । 


१९ वर्षमा सामुदायिक रेडियो विजय एफएम १०१.६ ले समुदायमा पु¥याएको योगदानको सामाजिक परिक्षण समुदायले गर्न जरूरी छ । जतिबेला सूचना प्राप्त गर्ने कुनै विकल्प नभएको समुदायमा रेडियोको स्थापना भएर जनजनको आवाजलाई उजागर गर्ने अभियानलाई सम्झँदा पनि छाती गर्वले फुल्दछ । यस क्षेत्रका हरेक आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य विविध आयामहरुमाथि सकरात्मक परिवर्तनका लागि विजय एफएम १९ वर्षदेखि अनवरत आवाज उठाउँदै आएको छ । हामीसंगसंगै र हामी पश्चात् स्थापना भएका कैयन रेडियोहरु सञ्चालन हुन धौधौ भइरहेको अवस्थामा सञ्चारकर्मलाई सेवामूलक कार्यमा क्रियाशील राख्न सफल रहेको महशुस हुन्छ । 


म आमसञ्चार तथा पत्रकारिताको विद्यार्थी हुँ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेपछि आफूले पढेका सिद्धान्तका कुराहरु व्यवहारिक प्रयोग गर्ने इच्छा थियो । कक्षा ११÷१२ पढ्दै गर्दा पत्रकारिता क्षेत्रपति जति आकर्षण (क्रेज) थियो त्यो क्रेज स्नातकोत्तर सकिँदा उस्तै थिएन । घटेर कम भएको थियो । स्नातकोत्तर सकेपछि भने रेडियोमा केही समय भएपनि अनुभव लिने इच्छा जाग्यो । त्यसपछि विजय एफएममा २०७१ भदौ १ गतेबाट नियमित सञ्चारकर्म सुरु गरैँ । सुरुवातमा विकास चिन्तन कार्यक्रम सञ्चालनबाट विजय एफएममा मेरो रेडियो पत्रकारिता सुरुवात भयो । यसका साथै घटनाचक्र बुलेटिनमा समाचार वाचकको रुपमा मेरो सञ्चार कर्म सुरुवात भयो ।

केही समयको अनुभव मात्र लिने भनि सुरु भएको विजय एफएमसंगको मेरो यात्रा ८ वर्ष पुगिसकेको छ । अहिले रेडियोको कर्म, दैनिक नियमित कर्म जस्तै बन्न थालेको छ । आवाज विहिनहरुका आवाज सम्बन्धित निकायमा पु¥याउने काम, समुदायका व्यक्तिहरुसंगको घुलमिल, समुदायको विकास र सकरात्मक परिवर्तनका लागि आवाज उठाउने काम बढो प्रिय बन्दै गएको छ । समयको क्रमसंगै कतिपय कामहरु काम नभएर कर्तव्य लाग्न थाल्ने रहेछ, रेडियोको कर्म अचेल कर्तव्य लाग्न थालेको छ । 

.

हाम्रो सञ्चारकर्मको दैनिकी, न विहान सुरुवात हुन्छ, न बेलुका अन्त्य हुन्छ । सुरुवात हुन अन्त्य हुनुपर्दछ, तर सञ्चारकर्मको न सुरुवात हुन्छ न अन्त्य हुन्छ, यो एउटा चक्रमा चलिरहन्छ । रातको १२ बजेपनि उठेर समाचार सम्पादन गरेर सुत्छाँै, विहानै उठेर फिल्डमा जान्छाँै । काम नसकिएसम्म अफिस टाइम सकिदैन । आजको समाचार भोली दिएर पनि भएन । यस्तै लगाव विजय एफएमप्रति मेरो रहँदै आयो । कहिलेकाँही मेरी श्रीमती भन्छिन् “यो कस्तो लगाव हो, यस्तो लगाव त प्रियजनका लागि मात्र हुन्छ ।” उनले सहि भन्थिन् । जव समुदाय प्रिय लाग्छ, उसका समस्या र खुसीका पल सामुदायिक रेडियोकर्मीका लागि आफ्नै लाग्छ । कहिलेकाँही उनले रेडियोलाई सौता भनेको पनि याद छ । जब दशैँ, तिहार, हरेक पर्वहरुमा उनले मेरो साथ खोज्दथिन्, तब म रेडियोमा हुन्थेँ । आफन्तहरुको खुसी र रमाइला पलहरु त्याग्नुपर्दा दुःख नलाग्ने होइन, तर यो कर्मप्रतिको लगाव यसरी लागेको छ नी, पारिवारिक सुखपनि अन्देखा भइदिन्छ । विजय एफएमको ८ वर्षको यात्रामा सधैँ अविस्मरणीय पलहरु धेरै छन् केही पलहरुलाई यसरी सम्झने प्रयत्न गर्दैछु । 


२०७२ सालको भूकम्प 


२०७२ साल बैशाख १२ गते शनिबारको भूकम्प गएको दिन । मेरो साप्ताहिक विदा थियो । विवाह भएको एक महिना मात्र भएको थियो । त्यो दिन आफन्तको जाने योजना अनुरुप तयारी हुँदै थियो । अचानक भूकम्प गयो । देशैभरी ठूलो मानवीय एवं भौतिक क्षति भएको थियो । भूकम्प गएपश्चात घरमा बस्न मनले मानेन । तत्काल स्कूटर लिएर रेडियो तर्फ लागेँ । विभिन्न ठाउँमा भएका क्षतिका विवरणहरु, भूकम्पका पराकम्पनहरु आइरहेका थिए । त्यसपछि रेडियोबाट सचेतना र सूचना प्रसारणका लागि हामी तल्लीन भएका थियौँ । नवलपरासीको किर्तिपुर, मकवानपुरका पहाडी क्षेत्र, चितवन नवलपरासीका विभिन्न क्षेत्रबाट क्षतिका विवरण तथा राहतका लागि टेलिफोन आउन थाल्यो । सबैभन्दा बढी गोर्खाको बारपाक नै क्षतिग्रस्त थियो । भुकम्पको केन्द्र विन्दु नै त्यहिँ थियो । हामी तत्काल ति सूचनाहरु रेडियो मार्फत प्रसारण गर्न थाल्याँै । यो प्रक्रिया दिनहुँजसो चल्न थाल्यो ।

सबैभन्दा स्मरणीय पल बैशाख २९ गते दिउँसो आएको अर्को भूकम्पको थियो । अहिले विकू सहकारीको  तेस्रो तलामा रेडियोको स्टुडियो थियो । भूकम्पकै सन्दर्भमा प्रत्यक्ष प्रसारणमा रहेका थियौँ । स्टुुडियोमा  म संगसंगै सहकर्मी करिष्मा केसी र अरु साथीहरु थिए । प्रविधिमा सहकर्मी तेजेन्द्र राना थिए । पराकम्पन बेलाबेलामा गइरहन्थ्यो । अन इयर स्टुडियो भित्रै हामीले एउटा बोतलमा पानी राखेर टेबलमा राखेका थियौँ । पानीको तह हल्लीन थाल्यो भने भूकम्प आएको सामान्य मापन गर्ने गर्दथ्यौँ । कार्यक्रममा बोल्दाबोल्दै भूकम्प आयो । घर नै हल्लिन थाल्यो । म संग बोल्दै गरेका साथीहरु निस्कीन थाले । प्रविधिमा तेजेन्द्र थिए । भूकम्प आइरहेको छ, तपाईंहरु सुरक्षित स्थानमा बस्नुहोला ? के भन्दै थिएँ । प्रविधिमा तेजेन्द्र पनि देखिनँ । अचान झन् जोडले हल्लिन थाल्यो । त्यसपछि म पनि कुलेलाम ठोकेँ । म भन्दा अघि निस्किएका साथीहरु भ¥याङमा चप्पल लगाउँदै थिएँ । म चप्पल नै नलगाई त्यहाँबाट सबैभन्दा पहिले झरेछु । बाहिर विकू, भिडिआरसीका सबै कर्मचारी बाटोमा थिए । ठूलो भिड लागेको थियो । उता विजय सामुदायिक स्कूलमा विद्यार्थीहरु ठूलो स्वरमा चिच्याइरहेको आवाज आएको थियो । कम्पन सकिएपछि पनि बाटोमा विजुलीका पोल र तारहरु धेरै बेरसम्म हल्लिरहेका थिए ।

भूकम्पको समयमा त्रिपाल भित्र रेडियो कार्यक्रम सञ्चालन गर्दै । प्राविधिक नविन सुवेदी, प्रस्तोताहरु हिमा अर्याल र राजेन्द्र पौडेल 

बैशाख १२ गतेदेखि २९ गतेसम्म  सयौँ पराकम्पन गएका थिए होलान् तर पनि हामी तेस्रो तलाबाट नै रेडियो चलाइरहेका थियौँ । त्यसपछि भने हामीले विकूको मूल ढोका छेउमा त्रिपाल भित्र रेडियो सञ्चालन गर्न सुरु ग¥याँै । परिस्थिति जस्तो सुकै होस्, मनस्थिति कहिलै कमजोर बनाउनुहुँदैन भन्ने मनोविज्ञान र कठिन परिस्थितिमा समुदायमा सहि सूचनाको आवश्यकता हुन्छ भन्ने सामुदायिक रेडियोको सिद्धान्तले नै हामीलाई समुदायको हितमा बोल्न प्रेरित गरिरहेको थियो  । मैले पहिलो पटक सामुदायिक रेडियोमा रहेर काम गर्दा गर्वको महशुस गरेको थिएँ । 


नमुनाग्राम सञ्चार अभियान / विकासका लागि सञ्चार 


म पत्रकारिताको विद्यार्थी हुँ । विश्वविद्यालयमा थ्यौरी अफ मास कम्युनिकेसन पढ्दै गर्दा होस् या डेभलपमेण्ट कम्युनिकेसन् पढ्दा होस् । चाहे मार्सल म्याक्लुहानको मिडियम इज द मेसेज पढ्दा होस् । मलाई ग्रासरुटमा काम गर्ने प्रचुर इच्छा थियो । विजय एफएमको १५ औँ वार्षिकोत्सवको अवसरमा एकवर्षभरि गैँडाकोटको सबैभन्दा विकट वडा गैँडाकोट वाड नं. ३ मा काम गर्ने योजना बनाएँ । जुन तत्कालिन गोपी सर नेतृत्वको सञ्चालक समितिले सहर्ष स्वीकार गर्नुभयो ।

सिमित स्रोत साधनबाट सञ्चालित रेडियोका लागि विकटमा पुगेर रिपोर्टिङ गर्नु सजिलो थिएन । कतिपय साथीहरुले ज्यानै जोखिममा पारेर पनि कसैले रिपोर्टिङ गर्दछ भनेर जागिर नै छोडिदिन्छु भन्नुहुन्थ्यो । एक पटक तिलकजीले फिल्डमै सातो लिनुभयो । उहाँलाई सम्झाउन पनि सजिलो थियो । तर त्यो दिन अप्ठेरो बाटो हिँडेर बेवकुफि चाँहि गरेकै थियौँ । जब आवाज विहिनका आवाज रेडियोबाट प्रसारण हुँदा उनिहरुको अनुहारमा खुसी छाउँदा साथीहरु सबैभन्दा बढी खुसी देखिनुहुन्थ्यो । विजय एफएमका कर्मशील रिपोर्टर साथीहरुका कारण यो अभियानले सार्थकता पाएको थियो । गैँडाकोट ३ को भूजेल गाउँमा खानेपानी समस्या उजागर गरेपछि विभिन्न निकायको ध्यान पुग्यो र खानेपानी र शौचालय निर्माणले पूर्णता पाएको खबरले बडो खुसी र आनन्द मिल्छ ।

 

सामुदायिक रेडियोले जति स्थानीय जनताका दुःख समस्यालाई सबैमाझ लिएर आउँछ त्यसको समस्या समाधानका लागि जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने रहेछ । भूजेल गाउँका साना बालबालिका पढ्न पाउने विद्यालय स्वीकृतिका लागि दबाब दिइरहेपछि उनिहरुले पढ्न पाएको त्यो दिन स्मरण गर्दा बडो खुसी लाग्ने रहेछ । सांगितिक कार्यक्रमले एक दिन खुसी दिने रहेछ, तर आवाज विहिनहरुका आवाज प्रसारण गर्ने यो एक वर्षे अभियान, मेरो लागी ८ वर्षको सबैभन्दा खुसी र अनुपम क्षण हो । यति बेला फेरी पनि सामुदायिक रेडियोकर्मी हुन पाउँदा थप खुसी र आनन्द महशुस गर्दछु ।

 

यसपछि गैँडाकोट १८ मा पनि अर्को वर्ष एक वर्षभरि त्यहाँका सम्भावना र समस्या उजागर गर्न विकासका लागि सञ्चार अभियान सञ्चालन गरेका थियौँ । सबैभन्दा खुसीको कुरा के लाग्छ भने पहिलो गैँडाकोट १८ र गैँडाकोट ३ का बारेमा धेरैलाई थाहा नै थिएन, धेरैले ढोडेनी मात्र चिन्दथे । तर यस अभियानपछि धेरैले यस क्षेत्रको सांस्कृतिक, भौगोलिक अवस्थाका बारेमा जानकारी लिन पाएका थिए । 


कोभीडमा रेडियो 


२०७६ साल फागुनबाट नेपालमा कोभीडको संक्रमण सुरु भयो । चैतको दोस्रो साताबाट लकडाउनको सुरुवात भयो । नेपालमा कोभीड संक्रमण देखा नपर्दै सम्भवतः नेपालमै पहिलो पटक विजय एफएमको समाचार शाखाको बैठक बसेर नेपालमा कोभीड संक्रमण फैलिएको खण्डमा कसरी रिपोर्टिङ गर्ने भनेर प्रोटोकल नै बनाएका थियौँ । अति आवश्यक र महत्त्वपूर्ण कार्यक्रममा मात्र रिपोटिङमा जाने, मास्क र सेनिटाइज अनिवार्य साथमा राख्नुपर्ने, दुरी कायम गरेर फेसटु फेस नभइ छड्के भइ अन्तर्वार्ता लिने, स्टुडियोमा अतिथि नबोलाउने, टेलिफोन अन्तर्वार्ता लिने, बढी भीडमा कार्यक्रम गर्ने आयोजकलाइ सचेत गराउने मापदण्ड बनाएका थियौँ ।

क्रमिक नेपालमा कोभीड सुरुवातसंगै चैत्र दोस्रो साताबाट लकडाउन सुरुवात भयो । तत्पश्चात संक्रमण दर बढ्दै गयो । त्यसपछि प्राविधिक साथीहरुको सुरक्षार्थ, घरबाटै काम गर्ने अवधारणा सुरु गर्यौँ । घरबाटै समाचार वाचन सुरु गर्यौँ । कोभीडको समयमा अफवाह र झुट्टा सूचनाहरु समुदायस्तरमा फैलिसकेका थिए । सहि सूचना सम्प्रेषण गर्नु रेडियोका लागि अति आवश्यक थियो । तत्पश्चात रुटिन अनुसार स्टुडियोमा सुरक्षित रहेर  कार्यक्रम प्रसारण गर्न थाल्यौँ । कोभीडका बीच कैयन सञ्चार माध्यम गीत बजाएर बसेको अवस्थामा हामी जनस्वास्थ्यको गम्भिर संकटका बीच, स्वास्थ्य सुरक्षाको मापदण्डमा रहि नियमित प्रसारणमा रहेका थियौँ  । समुदायको समस्या र समुदायको विपद्मा सामुदायिक रेडियोले धर्म निर्वाह गर्नु पर्दछ, परिस्थिति जस्तो सुकै होस् मनस्थिति कमजोर बनाउनु हुँदैन भन्ने भावनाले हरेक विपद्मा फ्रण्टलाइनमा उभ्याएको छ ।

कोभिडको समयमा घरबाटै समाचार वाचन गर्दै म । 

प्राविधिक साथीहरु र म नियमित स्टुडियोमा थियौँ । कतिपय सहकर्मी साथीहरु  घरबाट नै काम गर्नुभयो । कोभीड सधैँ हाम्रो आसपासमा रहने जस्तै भएपछि कोभीडसंग सुरक्षित रहँदै कामको  सिलसिला अघि रह्याँै । प्रायशः अफिसबाट फर्किदा छोरीले तोते आवाजमा ढोकाको छेउमा आएर हात गोडा नधोइकन भित्र नआउनु है भन्दा परिवारलाई जोखिममा राखेर कस्तो कर्म गर्दैछु भन्ने नआएको पनि होइन । तर कोभीडका बीच सहि सूचनाका कारण कैयन परिवारका मनोवैज्ञानिक त्रास कम गर्न सामुदायिक रेडियोले खेलेका भूमिका कारण कतिपय पारिवारि समस्यालाई कम गर्न मद्धत पुगेको महशुस गर्दथ्यौँ । कोभीडको कहरका बीच धेरै साथीहरु संक्रमित हुनुभयो । म यो अनुभव पनि कोभिड संक्रमित भएर घरमा आराम गरिरहेकै अवस्थामा लेखिरहेको छु । 

रेडियोमा मेरो ८ वर्षको अविधिमा मैलै धेरै कुरा सिक्ने अवसर पाएको छु । विश्वविद्यालयको कोर्समा पढेको मात्र शिक्षा होइन, व्यवहारमा भोगेको पनि शिक्षा हो ज्ञान हो । पत्रकारिता पढेर भन्दा पनि गरेर धेरै ज्ञानबोध गर्न सकिने पक्ष रहेछ । विकट र विपद्को समयमा सामुदायिक रेडियोहरुको महत्त्व धेरै हुने रहेछ । यो पढेर होइन देखेर जानेको छु  । जहाँ विकल्पमा अन्य सञ्चारमाध्यम रहँदैनन् त्यहाँ रेडियो  नै प्राथमिकतामा पर्ने रहेछ । जति बेला समाजमा बाढी पहिरो, राजनीतिक अस्थिरता, कोभिडको संकटका बीच समाजमा धेरैले सत्य र सहि सूचना प्राप्त गर्न रेडियोलाई नै विश्वासको माध्यम मानेको महशुस गरेँ । 


 प्रविधिसंगै रेडियोको संभावना प्रवल 


अहिले रेडियोको अस्तित्व सकियो, रेडियोको स्रोता छैनन् भनिन्छ । म यो कुरामा सहमति राख्दिन । सहमति यस कुरामा मात्र राख्छु कि, रेडियो सेटबाट आवाज सुन्ने स्रोता कम भए । स्वभाविक हो, प्रविधिको विकास संगै रेडियो सेटको क्रेज घटेको हो । रेडियो सेटको अस्तित्व सकिदै गएको हो, तर अडियोको अस्तित्व हिजो पनि थियो, आज पनि छ र भोली पनि छ । सूचना सम्प्रेषणको आधार अडियो नै हो । जुन कहिल्यै सकिने छैन ।

अडियो सम्प्रेषण गर्ने आधारहरु मिडियमहरु भने परिवर्तन भइरहन्छन् । जसलाई स्वाकार्नु नै पर्दछ । फेसबुक मार्फत, मोबाइल एप्स मार्फत, युट्युब मार्फत, अन्य पडकाष्ट मार्फत अडियो सुन्ने स्रोता घटेका छैनन् । प्रविधिको विकासले स्रोता सहज प्राविधि तर्फ जम्प गरेका मात्र हुन । चुनौती पुरानै प्रविधिमार्फत अघि बढौँ भन्ने रेडियो सञ्चालकहरुकालागि हो ।

समय अनुसारको प्रविधि मार्फत अडियो ब्रोडकाष्ट गर्नका लागि चुनौती होइन झन् बढी सम्भावना छ । सामुदायिक रेडियोहरु सहज प्रविधि तर्फ उन्मुख हुन जरुरी छ । प्रविधिको विकासलाई स्वीकार गर्न जरुरी छ । सामुदायिक रेडियो विजय एफएम १०१.६ आज १९ औँ वर्षको यात्रामा रहँदा विकसित प्रविधिलाई स्वीकार गरेको छ । सिमित स्रोत साधनबाट अघि बढ्नु बाध्यता पनि संगसंगै छ । 


समुदायले सञ्चालन गरेकोे विजय एफएम 


सामुदायिक रेडियोहरु समुदायले नै सञ्चालन गर्ने हो । सामुदायिक रेडियो व्यक्तिविशेषले चलाउने होइन, व्यक्ति विशेषले चलाएको रेडियो सामुदायिक हुन सक्दैन । रेडियोको अनरसिपमा विविधता भएसंगै, त्यसका कार्यक्रम सञ्चालकहरुमा विविधता भएसंगै विषयवस्तुमा पनि विविधता आउँछ । सामुदायिक रेडियो विजय एफएफम त्यसको एउटा उदाहरण हो । रेडियो समुदायले नै सञ्चालन गर्ने हो । पाल्पामा कुनै समय समुदायका व्यक्तिहरुले पाथीमाना धान उठाएर रेडियो धानेका थिए । अहिलेको समयमा धान मकै उठाउनै पर्दछ भन्ने छैन ।

समुदायका लागि रेडियो आवश्यक छ । तसर्थ पनि समुदायका विभिन्न संघसंस्थाहरुले गरेका राम्रा कामका विषयवस्तु, स्थानीय संघसंस्थाका अनुकरणीय पक्षका विषयवस्तुसंगै आर्थिक रुपमा टेवा दिन जरुरी छ । यसैको अनुपम उदाहारण बन्न खोजेको छ सामुदायिक रेडियो विजय एफएम । आर्थिक रुपमा संस्थालाई नियमित सञ्चालनका लागि सामुदायिक संघसंस्थाहरुको प्रमुख भूमिका रहेको छ । यो एउटा अध्ययनको विषय हो । सामुदायिक रेडियो आफैमा एउटा अध्ययनशाला, पाठशाला बनिरहेको छ । 


रेडियो किन आवश्यक छ ?


सूचना प्राप्तीका लागि रेडियो सहज पहुँच र सस्तो साधन हो । सूचना संकलन, प्रशोधन र वितरणका लागि रेडियो अन्य माध्यम भन्दा सहज र छिटो छरितो माध्यम हो । हाम्रो जस्तो नेपाली समाजमा रेडियो नै विश्वासिलो र प्रभावकारी सञ्चार माध्यम हो । रेडियोको आवश्यकता धेरै छ । म थोरै उदाहरणहरु मात्र पेश गर्दछु । सार्वजनिक यातायातमा भाडा दर एकरुपता भएन भनेर प्रमुख जिल्ला अधिकारीलाई भनेको भोलीपल्ट अनुगमन भएर एकरुपता बनाउन प्रक्रिया अघि बढेको ताजा उदाहारण छ ।

सडकमा खाल्डाखुल्डी भएका समाचार प्रसारण तथा प्रकाशन भएपछि दबाबमा काम तत्काल हुने गर्दछन् । रेडियो कार्यक्रममा प्रश्न सोधिएको एउटा प्रश्न पश्चात् जलुके खानेपानी सरसफाई उपभोक्ता संस्थाले फायर हाइड्रेन निर्माण गर्दछ । कोभीडका बीचमा मस्त निदाएका शिक्षण संस्थाहरुले वैकल्पीक शिक्षण सिकाइलाई प्रभावकारी बनाएका थुप्रै उदाहरणहरु छन् । 

वननियमावली अनुसार कार्यसमिति गठन नभएका समाचारका कारण सामुदायिक वनहरुले त्रुटि सच्याउँदै कार्यसमितिमा पदाधिकारी फेरबदल गरेका उदाहरण छन् । मिडियाले प्रश्न उठाउँछ भनेर महिला प्रतिनिधित्व सुनिश्चित गरेका उदाहरण पनि छन् । 

विद्यालय सुधार योजना निर्माणका सन्दर्भमा सामुदायिक रेडियोले प्रश्न उठाउन थालेपछि विद्यालयहरु सचेत बन्दै गएको ताजा उदाहरण छन् । स्थानीय संस्कृति र परम्पराको पुस्तान्तरणका लागि सामुदायिक रेडियोले गर्ने गरेका सांस्कृतिक प्रवर्धन पनि राम्रा उदाहरण छन् । यसकारण पनि सामुदायिक रेडियो समाजका लागि अति आवश्यक छ । 
रेडियो विश्वासिलो माध्यम 

सूचना प्राप्त गर्नकालागि धेरै माध्यमहरु छन् होला त विश्वसनिय माध्यम भनेको रेडियो नै हो । सामाजिक सञ्जालमा भोली नेपाल बन्द देखेपछि हो की होइन भनेर रेडियो सुन्ने र पहुँच हुनेले समाचार कक्षमा फोन गर्ने गर्नुहुन्छ । भोली सार्वजनिक विदा सुन्ने वित्तिकै होकी होइन भनेर पुष्टि गर्न धेरैको धेरै पटक समाचार शाखाका टेलिफोन बजेको छ । यसले पनि के पुष्टि गर्दछकी सूचना छिटो पाउनु, सूचना पाउनु मात्र ठूलो कुरा होइन रहेछ ।

सत्य तथ्य र विश्वसनिय सूचनाका लागि रेडियो अझै पनि निर्विकल्प माध्यम छ । यसमा पनि मलाई सामुदायिक रेडियोकर्मी हुनुमा गर्व लाग्दछ । फेसबुक, युट्युब लगायतका अन्य मिडियमलाई नियमन गर्ने राज्यको नीति पनि स्पष्ट नहुँदा मेनस्ट्रीम मिडियाका रुपमा रेडियो विश्वासिलो माध्यम हो । कुरा क्लिएर के हो भने सूचना मात्र चाहिनेलाई सामाजिक सञ्जाल बेष्ट, सत्य र विश्वसनिय सूचनाका लागि इष्ट एण्ड वेष्ट रेडियो इज दि बेष्ट ।