स्वास्थ्यमन्त्री गौतमः निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोला
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दललाई आग्रह गरेकी छन् । सोमबार (कात्तिक १०) काठमाडौंको ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपचाररत ‘जेनजी’ आन्दोलनका घाइतेसँगको भेटपछि उनले यस्तो आग्रह गरेकी हुन् ।
शिक्षण अस्पताल महाराजगन्जमा एक घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरि आँसु झार्दै उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराइन् ।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताइन् । “बिरामीहरूको अवस्था हेर्दाखेरि मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु,” उनले भनिन्, “र, जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ, त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु ।”
घाइते बिरामीले आफूलाई अस्पतालको कुरीति र बेथितिका बारेमा ध्यानाकर्षण गराएको उनले उल्लेख गरिन् । उनीहरूले दिएको सुझावका आधारमा अस्पतालको सुधारमा लागिपर्ने प्रतिबद्धता समेत उनले व्यक्ति गरिन् । उनले आफूले गरेका सबै काम पारदर्शी ढंगले जनताका बीचमा लैजाने संकल्प लिएको समेत बताइन् ।
“हाम्रो जनआन्दोलनको मर्म के थियो भने यी कुरीति, बेथितिहरू सबै हटून् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ,” उनले भनिन्, “र, मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्ने छु ।”
मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन् । त्यसक्रममा उनले अस्पतालले घाइतेको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन् । न्युज एजेन्सी नेपाल