भरतपुर प्रशासनिक भवनको ठेक्का सम्झौता

चितवन । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण ठेक्का सम्झौता भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभी बीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । लागत अनुमान रकम रु ७८ करोड ११ लाखमा ३२ दशमलव ४८ प्रतिशत न्युनतम मूल्यमा शर्मा–सगरमाथा–सगुन जेभीले ठेक्का पाएको हो ।
जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने छ ।
महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवन बनाउन लागिएको हो ।
संघीय अर्थ मन्त्रालय, वागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित्ता गरेर भवन निर्माण गर्न लागिएको प्रमुख दाहालले बताउनुभयो ।
संघीय सरकारबाट रु ३५ करोड, वागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी स्रोत सुनिश्चित भएको छ ।
विकेन्द्रित सेवाहरू अब छिट्टै सुविधा सम्पन्न महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहजरुपमा प्रदान हुने विश्वास महानगरपालिकाको छ ।