घाँस काट्ने प्रतियोगितामा ४ समूहका ४० कृषक प्रतिस्पर्धामा

२०७९ श्रावण १५ आइतबार १८:३४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट पशुपालक किसानलाई प्रोत्साहन दिन र घाँसको महत्त्व बुझाउन घाँस काट्ने प्रतियोगिता गरिएको छ । गैँडाकोट भेडावारी प्लटिङमा श्री स्वस्थानी घाँस स्रोत केन्द्रको आयोजनामा साउने १५ को अवसर पारेर किसानलाई खिर खुवाउँदै घाँस काट्ने प्रतियोगितामा सहभागि गराईएको हो ।

प्रतियोगितामा निर्धारित ५ मिनेटको समयमा मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले १ हजार ३५ दशमलव ५ किलोग्राम घाँस काटेर प्रथम हुन सफल भएको छ । यस्तै अमर बचत तथा ऋण सहकारी संस्थाले ८ सय ७९ दशमलव ८ किलोग्राम घाँस काटेर द्वितिय हुन सफल भयो भने नवज्योती दुग्ध उत्पादक सहकारी संस्था ७ सय ८८ दशमलव ६ किलोग्राम घाँस काटेर तृतिय हुन सफल भएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्रले ७ सय ४८ दशमलव २ किलोग्राम घाँस काट्दै सान्त्वना स्थान हासिल गरेको छ ।


प्रतियोगितामा प्रथम हुनेले १२ हजार सहित प्रमाणपत्र, द्वितिय हुनेले ८ हजार सहित प्रमाणपत्र, तृतिय हुनेले ५ हजार सहित प्रमाणपत्र, सान्तवना हुनेले २ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका हुन् । करिब २ कट्ठा क्षेत्रफलमा रहेको घाँस ४० जनाले २० मिनेटमा सकेका थिए ।

कृषकहरु घाँस काट्ने प्रतियोगितामा सहभागि बन्न पाउँदा खुसी देखिएका थिए । ४ समूह र प्रत्येक समूहमा १०/१० जनाको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा संयोजक रामलाल श्रेष्ठ सदस्यहरुमा शेषकान्त कोइराला, सागर विक्रम शाह, मानबहादुर थारु, लोकनाथ न्यौपाने रहनुभएको थियो ।

प्रतियोगितामा प्रमुख अतिथि नार्क पशु आहारा महाशाखाका प्रमुख वरिष्ठ बैज्ञानिक लुमा निधि पाण्डेले कृषकमा कृषि कर्मका लागि उत्साह रहेको सन्देश प्रतियोगिताले दिएको बताउनुभयो । यसलाई पर्व र मेलाको रुपमा लिन पर्ने बताउँदै कृषकहरुको सेवकका रुपमा आफुहरुले काम गर्ने बताउनुभयो ।

आयोजक श्री स्वस्थानी घाँस स्रोत केन्द्रका प्रोपाइटर बिष्णु भट्टले किसानको सम्मानका लागि प्रतियोगिता गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रमले राज्यलाई नै किसानका लागि काम गर्न झकझकाउने भनाई छ । कृषि र कृषकको सम्मानका लागि यस्ता कार्यक्रम आवश्यक भएको उहाँले बताउनुभयो ।

श्री स्वस्थानी घाँस स्रोत केन्द्रका सञ्चालक खिला शर्मा भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।