कक्षा १२ को नतिजामा नन ग्रेडेड लागू हुने

नवलपुर
कक्षा १२ को नतिजामा नन ग्रेडेड लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो ।
कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडिङ) विधि लागू भयो । तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो।
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ ।
सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अंक ल्याएमा (नन ग्रेडेड) लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो । १६ जेठदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।