५ वर्षपछि नगर सभाले बनायो लेखा, विद्यायन र सुशासन समिति

२०७९ असार ८ बुधबार १७:०७:०० मा प्रकाशित


प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोट नगरपालिकाको एघारौँ नगर सभाले न्यायिक समिति, लेखा समिति, विद्यायन समिति र सुशासन समिति गठन गरेको छ ।

अघिल्लो ५ वर्षे कार्यकालको नगर सभाबाट यस्ता समिति बनाउनुपर्ने भएपनि न्यायिक समिति बाहेक अन्य समिति बन्न सकेका थिएनन् । तत्कालिन नगर प्रमुख छत्रराज पौडेलले कार्यपालिकाको अनुमोदनबिना नगर सभामा समितिका नामावली पेश गरेको भन्दै नगरकार्यपालिका सदस्य लगायत बहुसङ्ख्यक नगर सभा सदस्यले अस्वीकृत गरेका थिए । एघारौँ नगर सभामा अध्यक्ष एवं नगर प्रमुख मदनभक्त अधिकारीले पेश गरेको समिति ध्वनी मतका आधारमा पारित भएको थियो ।

गठित समितिहरुमा न्यायिक समिति सदस्यमा वडा नम्बर ५ का वडा सदस्य द्रोण वन सन्यासी र वडा नम्बर १५ का गिता पौडेल रहेका छन् । न्यायिक समितिको संयोजकमा उपप्रमुख रहने व्यवस्था अनुसार समितिको संयोजकमा उप प्रमुख शान्ती कोईराला रहनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा १० का वडा अध्यक्ष देवीदत्त कंडेल र सदस्यहरुमा २ का सदस्य खगराज आचार्य र १ का सदस्य सीता सापकोटा रहेका छन् ।

विद्यायन समितिको संयोजकमा ९ का सदस्य ज्ञानप्रसाद खनाल, सदस्यमा २ का सदस्य सीता श्रेष्ठ र ३ का सदस्य सुर्यमाया दर्लामी मगर रहेका छन् ।

सुशासन समितिको संयोजकमा १३ का वडा अध्यक्ष मधुकर मल्ल र सदस्यहरुमा ६ का सदस्य रणबहादुर दराई र नगरकार्यपालिका सदस्य राजकुमार कुमाल रहेका छन् ।