बजेटमा शिक्षालाई प्राथमिकता दिन पालिकालाई एनसिइको सुझाव 

२०७९ असार ७ मंगलबार २०:०७:०० मा प्रकाशित

नवलपुर
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले, नवलपुरका बिभिन्न पालिकामा शिक्षामा कम्तीमा २० प्रतिशत बजेट छुट्टाउन माग गर्दै सुझाव दिएको छ । गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका प्रमुखलाई भेटेर शिक्षामा ल्याउनुपर्ने कार्यक्रम र बजेटमा शिक्षालाई प्राथमिकता दिन सुझाव पत्र बुझाएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका संयोजक लक्ष्मी गौतमले शिक्षा हरेक क्षेत्रको विकासको मुल आधार भएकाले स्थानीय सरकारले बजेट, निति तथा कार्यक्रममा प्राथमिकता दिन पालिका प्रमुखलाई सुझाव पत्र बुझाएको बताउनुभयो । 
सुझाव पत्र बुझ्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षा, स्वास्थ्यमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । सबै नगरबासीले सहज अध्ययन र सर्वसुलभ रुपमा अध्ययन गर्न पाउने वातावरण पनि बनाउने प्रतिबद्धता जनाउनुभएको छ । 
यस्तै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले शिक्षामा २० प्रतिशत नघटाई बजेट विनियोजीत गरिने बताउनुभयो । सबैले सहज पढ्न र प्राबिधिक शिक्षाको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर सोहि अनुसारका निति र कार्यक्रम अगाडी सार्ने बताउनुभयो । 
विनयी त्रिबेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले शिक्षामा गाउँपालिकाको कुल बजेटको १५ देखी २० प्रतिशत बजेट विनियोजन गरेर काम गर्ने बताउनुभएको छ । उहाँले शिक्षाका लागि राष्ट्रिय अभियानले गरेको कार्यक्रम र सुझावका लागि धन्यबाद दिनुभएको छ । 
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले शिक्षा बिकास र शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन पहल गर्दै आइरहेको छ । कोभिडको समय होस वा अन्य समय शिक्षा विकास रसरोकारवालालाई झक्झकाउन बिभिन्न कार्यक्रमहरु पनि गर्ने गर्दछ ।