मौलाकालिका मन्दिरको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन गरिदैँ 

२०७९ जेठ २१ शनिबार १८:४८:०० मा प्रकाशित

गैँडाकोट । 
हरिहर सन्न्यास आश्रम देवघाटधामका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले प्राणीमा भगवतीको शक्ति भएकाले नै जीवन, जीवन भएको बताउनुभएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४२ औँ साधारण सभामा बोल्दै उहाँले भगवती देवी माताको कृपा नभएर सम्पत्ति भएपनि शान्ति नहुने बताउनुभयो । बेद र पूर्विय दर्शनको चिन्तन गरेर अगाडी बढ्न सके अनुशासित र मनमा शान्ति हुने उहाँको भनाई छ । सृष्टि सञ्चालन गर्ने संविधान भनेकै बेद भएकाले बेद अनुसार एकले अर्कालाई सम्मान गर्दै अगाडी बढनुपर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले गुरुकुल सञ्चालनार्थ प्रक्रिया अगाडी बढेको बताउँदै संस्कृतमा कक्षा ६ र ७ अध्यापन भएको जानकारी दिनुभयो । मौलाकालिका मन्दिरलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विकासका पूर्वाधारहरु बनाएर अगाडी बढेको उहाँले बताउनुभयो । उहाँले २०३७ सालमा गठन गरिएको धार्मिक सेवा समितिले स्थापनाकालदेखी नै मन्दिर, धर्म र संस्कृतीको संरक्षणमा काम गरिरहेको बताउनुभयो । 


श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव सुरेन्द्र रेग्मीले मौलाकालिका मन्दिरको सर्वाङ्गिण विकासका लागि स्थानीय सरकार र अन्य निकायसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । मन्दिरको सिँढीमार्गको वरिपरि मूर्ति निर्माण र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न काम गरिरहेको उहाँको भनाई छ । 
कोषाध्यक्ष सुवनप्रसाद ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७७÷०७८ मा १ करोड ४८ लाख २० हजार १ सय ६२ रुपैयाँ आम्दानी भएको र १ करोड ४५ लाख ४८ हजार ५ सय ७० खर्च भएको जानकारी दिनुभयो । यस्तै चालु आर्थिक बर्ष ०७८÷०७९ को बैशाख मसान्त सम्ममा आम्दानी तर्फ १ करोड ६७ लाख ५५ हजार ३ सय ९ र खर्चतर्फ ६२ लाख ९९ हजार ९ सय ३८ भएको जानकारी दिनुभयो । 


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले मौलाकालिका मन्दिर गैँडाकोटकै शान भएको बताउनुभयो । संस्कृतिले अनुशासन सिकाउने हुनाले धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । उहाँले मौलाकालिका मन्दिरमा बलिप्रथा नहुनुले पनि राम्रो पक्ष भएको बताउनुभयो ।  
गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले मठ मन्दिरको संरक्षण सम्बद्र्धन गर्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक भएको बताउनुभयो । उहाँले मौलाकालिका मन्दिर र यसको धार्मिक महत्त्व देशभर तथा अन्तर्राष्ट्रिय स्तरमा नै रहेको बताउनुभयो । 
यस्तै आज बिभिन्न व्यक्तित्वहरुलाई साधारण सभाकै अवसरमा सम्मान गरिएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर नामाकरण गर्ने संस्थापक सदस्य एव्म समाजसेवी ब्रजमोहन सोतीलाई अभिनन्दन पत्र, दोसल्ला र फुलमालाले सम्मानित गरिएको छ । यस्तै मन्दिरको विकासमा टेवा पु¥याउने सहयोगी संघसंस्था र कर्मचारीहरुलाई पनि सम्मानित गरिएको हो । लेखापाल राधा थापा, ईन्जिनियर महेन्द्र आचार्य, इलाका प्रहरी कार्यालय गैँडाकोट, पूजा व्यवस्थापन उपसमिति सदस्यहरु लक्ष्मण भट्ट, दामोदर पौडेल, प्राचार्य प्रकाश पराजुली, चण्डिका देवी भजन कृतन समूह, दानदाता दानबहादुर थापा, भान्छे खिमलाल पनेरु र सहायक भान्छे नारायण जैसीलाई प्रशंसा पत्रले समनित गरिएको हो । सोहि कार्यक्रममा मौलाकाली नृत्य पूजा बिधि नामक पुस्तकको विमोचन गरिएको थियो । 


कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बिक्रम महत, मन्दिरका निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटा, गैँडाकोट नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुकुमारी कँडेल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सहसचिव भूमिश्वर शर्माले गर्नुभएको थियो । साथै अहिले संस्थाको १३ औँ अधिबेशन चलिरहेको छ ।