पालिका प्रमुखहरुको एक स्वर–‘सहकार्यबाट नै विकास’

२०७९ जेठ १४ शनिबार १५:०३:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरका स्थानीय तहका नव निर्वाचित पालिका प्रमुखहरुले सहकार्यबाट नै विकास सम्भव रहेको बताउँदै स्थानीय संस्थाहरुसँग हातेमालो गर्ने बताएका छन् । विजय परिवारले शनिबार कावासोतीमा आयोजना गरेको नवलपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ एवं शुभकामना कार्यक्रममा पालिका प्रमुखहरुले विजय परिवारका संस्थाले गरेका कामको खुलेर प्रशंसा गरेका थिए ।


कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विजय परिवारका संस्थाहरुको कामले विकासमा फड्को मारेको बताउँदै यसले जनप्रतिनिधिलाई समेत प्रोत्साहन गरेको बताउनुभयो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले स्थानीय तहको विकासका लागि विजय परिवार अपरिहार्य रहेको बताउँदै सहकार्यका लागि तयार रहेको बताउनुभयो ।  
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले सामाजिक, वित्तीय, सञ्चार, शिक्षा लगायतको क्षेत्रमा विजय परिवारको काम अनुकरणिय रहेको बताउँदै यो पाठशालाको रुपमा रहेको बताउनुभयो ।  
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तह जनताको भरपर्दो सरकारका रुपमा रहेको बताउँदै जनताका मुद्दामा काम गर्दै नागरिकको चाहना अनुसार गर्ने बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले पालिकाको विकासका लागि विजय परिवारसँग हातेमालो गर्न चाहेको बताउँदै पालिकामा स्वागत गर्ने बताउनुभयो ।
विजय परिवारका संयोजक एवं विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले केन्द्रको सामाजिक विकासमा ४ दशक लामो अनुभव रहेको बताउँदै विकास कार्यमा स्थानीय तहसँग सहकार्यका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
स्वागत मन्तव्य व्यक्त गर्दै विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले दिगो विकासका लागि योजनावद्ध तवरले काम गर्नुपर्ने बताउँदै विधि नीति अनुरुप गर्न सक्यौ भने नवलपुर नेपालकै उत्कृष्ट जिल्लाका रुपमा स्थापित गर्न सकिने बताउनुभयो ।  
विजय परिवारका तर्फबाट विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले विजय परिवारका ८ वटा संस्थाको संस्थागत परिचय राख्दै मत विभाजन हुन सक्ने तर विकास कार्यमा मन एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ती कोईराला, देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारी, कावासोती नगरपालिकाका नगर उप प्रमुख फूलकुमारी थनेत, मध्यविन्दु नगरपालिकाका नगर उप प्रमुख पूर्णकला चौधरी, विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष भगवती वैदावर क्षेत्री लगायत नवलपुरका विभिन्न पालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


विजय परिवारले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाइ एवं शुभकामना व्यक्त गरेको छ । विजय परिवारमा विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था लि., विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि., विजय सामुदायिक शिक्षा सहकारी संस्था लि., विजय लघुवित्त वित्तीय संस्था लि., विजय कन्सल्टिङ प्रा.लि., विजयश्री उपभोक्ता सहकारी संस्था लि. र विजय फाउन्डेशन रहेका छन् ।