यस्ता छन्, नगरपालिकाका जनप्रतिनिधिले पाउने सुविधा

२०७९ जेठ १२ बिहीबार १५:०५:०० मा प्रकाशित


गैँडाकोट । गण्डकी प्रदेशका जनप्रतिनिधिले १३ शिर्षकमा विभिन्न सुविधा पाउनेछन् । गण्डकी प्रदेश सभाले बनाएको सदस्यले पाउने सुविधा सम्बन्धी ऐन अनुसार नगरपालिकाका पदाधिकारी तथा सदस्यले १३ शिर्षकमा सुविधा पाउने छन् ।  
ऐनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि गाडी तथा प्रमुखले स्वकीय सचिव राख्न पाउनेछन् । नगरपालिकाका प्रमुखले मासिक ५२ हजार ५०० रुपैयाँ पाउने छन् । ऐनले सवारी इन्धन, मोबिल, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता, चाडपर्व खर्च र बिमा सुविधा सबै तहका जनप्रतिनिधिले पाउने व्यवस्था गरेको छ ।
नगरपालिकाका प्रमुखले मासिक ९० लिटरसम्म सवारी ईन्धन, त्रैमासिक ५ लिटर मोविल, यातायात सुविधा १२ हजार, पत्रपत्रिका ईन्टरनेट सुविधा ५ हजार, टेलिफोन तथा मोबाईल रिचार्ज सुविधा ५ हजार, अतिथि सत्कार १२ हजार, अनुगमन सुविधा ११ हजार ५ सय, समन्वय र सहजिकरण सुविधा ७ हजार, चाडपर्व सुविधा ३० हजार, बैठक भत्ता १ हजार, दैनिक भ्रमण भत्ता १ हजार ८ सय र विदेश भ्रमण भत्ताबापत प्रतिदिन १४० अमेरिकी डलर र बीमा वार्षिक १० हजार पाउनेछन् । उप–प्रमुुखले मासिक ४७ हजार रुपैयाँसहित अन्य भत्ताहरू सुविधा पाउनेछन् ।
नगरपालिकाका वडाध्यक्षले मासिक २६ हजार रुपैयाँसहित अन्य सुविधा पाउनेछन् । वडा अध्यक्षले समेत १३ शिर्षकमा सुविधा पाउने छन् । वडा अध्यक्षले मासिक १५ लिटरसम्म सवारी ईन्धन, त्रैमासिक १ लिटर मोविल, यातायात सुविधा १ हजार ५ सय, पत्रपत्रिका ईन्टरनेट सुविधा ४ हजार, टेलिफोन तथा मोबाईल रिचार्ज सुविधा ४  हजार, अतिथि सत्कार सुविधा ६ हजार, अनुगमन सुविधा ६ हजार, समन्वय र सहजिकरण सुविधा ४ हजार ५ सय, चाडपर्व सुविधा २५ हजार, बैठक भत्ता १ हजार, दैनिक भ्रमण भत्ता १ हजार ५ सय र विदेश भ्रमण भत्ताबापत प्रतिदिन १२५ अमेरिकी डलर, बीमा वार्षिक १० हजार पाउनेछन् ।
त्यस्तै कार्यपालिका सदस्यले २२ हजार र नगर सभा सदस्य (वडा सदस्यहरु)ले १३ हजार ५०० रुपैयाँ सुविधा पाउने छन् । गण्डकी प्रदेशमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी ८५ वटा स्थानीय तह छन् ।