नेपाल टेलिकम गैँडाकोटको सेवासुविधाप्रति सेवाग्राहीको गुनासो

२०७८ पौष ३० शुक्रबार १९:५०:०० मा प्रकाशित


गैँडाकोट। नेपाल टेलिकम गैँडाकोटको सुविधा प्रति सेवाग्राहीले गुनासो गरेका छन् । दूरसञ्चार सेवाको गुणस्तर र अनुगमन संयन्त्रबारे गैँडाकोटमा शुक्रबार अन्तक्रिया कार्यक्रम भएको थियो । अन्तक्रिया कार्यक्रम आर.के.टेक सोलुसन्सको आयोजनामा भएको थियो । गैँडाकोटमा भएको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै सेवाग्राहीहरुले कार्यालय र कर्मचारीबाट सहयोग र सेवा नपाएको बताएका छन् । टेलिफोन सेट मर्मत गर्न नआइदिने, इन्टरनेटमा भनेको जति स्पीड क्षमता उपलब्ध नगराउने, टावर जुधेर टेलिफोन नबुझिने लगायतका समस्या हुँदा पनि समाधान नभएको भन्दै तत्काल सुधार गर्न आग्रह गरेका थिए । 


कार्यक्रममा गोविन्द रिमाल, हिमालदेव पंगेनी, बसन्त पराजुली, आनन्द पोख्रेल, राजेन्द्र पौडेल लगायतले सेवाग्राहीको चाहाना बमोजिम गुनासो सम्वोधन नभएको भन्दै यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । 
कार्यक्रममा बोल्दै नेपाल दूरसंञ्चार प्राधिकरणका डाइरेक्टर मिन प्रसाद अर्यालले टेलिकमको क्षेत्रमा धेरै परिवर्तन भएको बताउँदै देखिएका समस्या समाधान गर्ने बताउनुभयो ।