विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीको २१ औं साधारण सभा सम्पन्न 

२०७८ पौष ११ आइतबार १७:१८:०० मा प्रकाशित

 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैंडाकोट ८ को २१ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

 

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले समाजमा रेडियोले र पत्रिकाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रगतीको कामना व्यक्त गर्नुभयो । 

 

गैँडाकोट नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले कार्यक्रमको समुद्घाट्न गर्दै विजय एफएम लोकप्रिय र अब्बल रेडियोको रुपमा समुदायमा स्थापित रहेको बताउनुभयो । सत्य, तथ्य, समाचार प्रकाशन प्रशारण गरिरहेको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह गर्नुभयो । 

 

विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको भएको साभारण सभामा विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागाईंले सबैले आफ्नो तर्क राख्ने साझा चौतारीको रुपमा विकास गरिने बताउनुभयो । गैँडाकोटमा रेडियो सुन्ने श्रोता मध्ये ८५ प्रतिशत श्रोताले विजय एफएम सुन्ने गरेको सर्भेले देखाएको तथ्याङ्क र विजय खबर प्रेस काउन्सिलको ख वर्गमा सुचिकृत हुनुले यसको महत्त्व र सफलता देखाएको समेत बताउनुभएको छ । 

 

संस्थाका सचिव गिरिराज लम्सालले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक सञ्चार माध्यमका रुपमा संस्थाले स्थानीय सवाल, सरोकार समस्या र प्राथमिकताहरुलाई मुख्य विषयबस्तुका रुपमा ग्रहण गर्दै जिम्मेवार पत्रकारिताका माध्यमबाट समाजका कुरिति, विसंगति र गलत अभ्यासहरुलाई न्यूनिकरण गर्न रेडियोले कार्य गरिरहेको बताउनुभयो । उहाँले विजय एफएम र विजय खबरका सामग्रीप्रति स्रोताको विश्वासले यसलाई अगाडी बढ्न प्रेरित गरेको बताउनुभयो । 

 

कोषाध्यक्ष भानुभक्त रिमालले यसवर्ष पनि कोभिडले हरेक क्षेत्रमा प्रभाव पारेको बताउँदै विजय एफएम र विजय खबरले श्रोताको जीवनमा पारेको प्रभाव र विश्वास नै संस्थाको पूँजी भएको बताउनुभयो । यस्तो विषम परिस्थितिमा संस्थामा कार्यरत कर्मचारीको सेवा सुबिधा नियमित प्रदान गरिएको बताउनुभयो ।

 

संस्थाका लेखा समिति सदस्य बद्री लम्सालले विभिन्न समस्या आइपरेपनि संस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभयो । कर्मचारीको योगदान र सञ्चालकको सक्रियताले विजय एफएमले ख्याती कमाउँदै गएको बताउनुभयो ।

 

कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक खेमराज सापकोटाले कुनै वस्तुलाई कसरी हेर्छौ त्यस्तै देखिने बताउँदै हेराइमा भर पर्ने बताउनुभएको छ । उहाँले रेडियोले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । 

 

प्रवर्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले चुनौतीलाई चिर्दै सम्भावना चिन्न सके सफलता पाउन सकिने बताउनुभयो । उहाँले दियोलाई हावाबाट जोगाए जस्तै आफ्ना सपना पनि पुरा गर्न हावाहुरीबाट बचाउन सके सफल भईने बताउनुभयो । 

 

प्रवर्धकिय संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष यमुनाथ आचार्यले विजय एफएमले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । 

 

संस्थाका संस्थापक सचिव एवं सल्लाहकार समिति सदस्य केशव सापकोटाले महामारीमा र बिषम परिस्थिीतिमा रेडियोले सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भुइमान्छेका कुरा उठाउँदै सबै श्रोतासम्म पुग्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । 

 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष गोपीनाथ खरेलले अहिलेसम्म विजय एफएम र विजय खबरले समुदायमा अधिकार स्थापित गर्न र समुदायको हितका लागि कार्यक्रम गरिरहेको र आगामी दिनमा अझ मेहनतका साथ काम गर्न सुझाव दिनुभएको छ । 


विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले समुदायमा अलग छाप छोड्दै प्रगतीको पथमा अगाडी बढेको बताउदै अझैँ सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । 
कार्यक्रममा सम्मानित संस्थाको तर्फबाट मौलाकालि सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, शेयर सदस्यको तर्फबाट शोभाखर रिमालले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
सो अवसरमा न्यायिक सचेतना प्रदान गर्ने हेतुले कार्यक्रम न्यायिक डबली उत्पादनमा सहकार्य गरेकोमा गैँडाकोट नगरपालिकाको न्यायिक समिति, बालबालिकाको विकास र सचेतनामा उत्पादित कार्यक्रम बाल आवाज उत्पादनमा सहकार्य गर्ने गैँडाकोट वडा न. १ को कार्यालय सम्मानित भएका छन ।

यस्तै वन वातावरणको संरक्षण र सचेतना अभिवृद्धिका लागि योगदान पु¥याउने मौलाकालि सामुदायिक वन, जयश्री सामुदायिक वन, नन्दन सामुदायिक वन, नारायणी सामुदायिक वन, भेडावारी सामुदायिक वन र धुसेरी सामुदायिक वनलाई सम्मान गरिएको थियो । उत्कृष्ट शेयर सदस्यका रुपमा तुलसीप्रसाद पौडेल, उत्कृष्ट विज्ञापनदाताका रुपमा वैद्धिक आयुर्वेद सेवा प्रा.ली, उत्कृष्ट कर्मचारीको रुपमा कार्यक्रम उत्पादक तथा रिपोर्टर पवित्रा पराजुली, उत्कृष्ट कार्यक्रम उत्पादकका रुपमा कार्यक्रम उत्पादक जगन्नाथ उपाध्याय, ध्वनी सम्पादनमा वरिष्ठ प्राविधिक राजेन्द्र श्रेष्ठ र सर्वाधिक कार्यालय उपस्थित हुने प्राबिधिक एवं बजार प्रतिनिधि गगन गिरीलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष रामहरी शर्माले कवितामार्फत स्वागत मन्तव्य व्यक्त गर्दै कोभिडले हरेक क्षेत्र प्रभावित बनेको यस्तो अवस्थामा पनि विजय एफएम र विजय खबर संक्रमणबाट जोगिदै सुचना प्रवाह गर्न सक्नु खुसीको कुरा भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण संस्थाका सहसचिव सावित्रि सापकोटा सन्ध्याले गर्नुभएको थियो । 

‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।