कावासोतीमा अटोको ठक्करबाट बाबुको मृत्यु, आमा छोरा घाइते

२०७८ मङ्सिर १३ सोमबार १०:३२:०० मा प्रकाशित


कावासोती । कावासोती नगरपालिका वडा नम्बर ११ मा अटोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अटोले एकै परिवारका तीन जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।

गएराति कावासोती ११ लौगाँई स्थित भित्री सडकखण्डमा लु १ ह १०३३ नम्बरको अटोले आइतबार राती ९ बजे उनीहरुलाई ठक्कर दिएको हो । घाइते मध्ये बाबुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा कावासोती ११ लौगाईका ४९ वर्षिय गोपाल चापागाइ रहेका छन् । मृतक चापागाईकी श्रीमती र छोरा घाईते छन् । घाईते ४६ वर्षिया राधा चापागाई र २९ वर्षिय पंकज चापागाईको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको डिएसपी गिरीले बताउनु भयो ।